INSEC Online

📅 २०८३ जेष्ठ २१

बर्खामा राष्ट्रिय परिचय पत्रका कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती

आगामी साउनबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सूचनासँगै दैनिक जिल्ला प्रशासन कार्यालयमा बढेको भीडले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सास्ती भएको छ ।

सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै छ । तर, सबै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा सूचना जारी गरेपछि स्पष्ट बुझाई नहुँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू धमाधम जिल्ला प्रशासन कार्यालय आएका छन् ।

इस्मा गाउँपालिका–३ की ८७ वर्षीया खिमा चालिसे घरमा एक्लै हुनुहुन्छ । छिमेकमा हल्ला चलेपछि छोरीलाई बोलाएर राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालयमा आउनुभयो । निकै ठूलो भीडमा लाइन लागेर राष्ट्रिय परिचय पत्र शाखामा पुग्नुभयो । तर, चालिसेको राष्ट्रिय परिचय पत्र गाउँकै शिविरमा बनेको रहेछ । ‘बुढी मान्छे भत्ता नपाइने भनेपछि प्रशासन आएँ । कर्मचारीले हेरेपछि कागज गाउँमै बनेको रहेछ । कुरा नबुझेकाले बुढी मान्छे दुख र खर्च मात्रै भयो’, उहाँले भन्नुभयो । तीन वर्ष अगाडि गाउँगाउँमै शिविर सञ्चालन गरेर राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन भए पनि अहिलेसम्म वितरण नभएका कारण पनि ज्येष्ठ नागरिक अनविज्ञ भएकाले थप सास्ती भएको हो ।

सरकारले साउनबाट कार्यान्वयन हुने २८ ओटा जिल्लाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा मात्रै पत्राचार नगरेका कारण पनि धेरैलाई अन्यौलता सृजना भएको नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले बताउनु भयो । उहाँले वर्षातको समयमा हजारौँ खर्च गरेर तम्घास आउने र कार्यालयमा भीडको कारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले पाएको सास्ती निकै दुखदायी भएको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र लिनेहरूको भीड निकै बढेपछि सार्वजनिक सूचना समेत प्रकाशन गरिएको छ । तर, कार्यालयमा आउनेहरूको सङ्ख्यामा कमी नआएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

उहाँले दैनिक नागरिकता, राहादानी सहितका सिफारिसमै आफूहरूको जनशक्तिलाई भ्याइनभ्याई रहेकाले पछिल्लो भीडले व्यावस्थापनमा निकै गाह्रो भएको बताउनु भयो । अहिले एउटा सिस्टमबाट मात्रै राष्ट्रिय परिचय पत्र जारी भएकाले सिमित सङ्ख्याभन्दा बढिको विवरण सङ्कलन नहुने र देशभर सोही अवस्था भएका कारण सर्भर डाउन हुँदा थप सास्ती भएको गैरेले बताउनु भयो ।

अहिले जिल्लाभर वर्षातको कारण सहज यातयातको पहुँच छैन् । पहिरो र खोलाको कारण प्राय स्थानीय तहको आवागमन बन्द भएका छन् । तर, परिचय पत्रका कारण थुप्रै ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले दुख गरेर प्रशासन आउने गरेका छन् । भीडका कारण एकै दिनमा काम नहुँदा होटलमा बस्नुपर्ने अर्को समस्या रहेको मालिका गाउँपालिका-३ का स्थानीय राजकुमार विकले गुनासो गर्नुभयो ।

Photo29062024Gulmi

Photo29062024Gulmi1

Photo29062024Gulmi3

अन्य

भिडियो