व्यास नगरपालिका– २ मालपोत लाइन स्थित एक घरमा घरेलु श्रमिकको रुपमा राखिएकी ९ वर्षीया बालिकाको इन्सेक प्रतिनिधिको सूचनाको आधारमा ०८१ असार १२ गते राती प्रहरीले उद्धार गरेको छ ।
प्युठान जिल्ला बिजुवार गाउँपालिका घर भई हाल व्यास नगरपालिका– २ मा भाडामा बस्दै आएका सशस्त्र प्रहरीका पूर्व वरिष्ठ हवल्दार राजकुमार रानाले संरक्षणको लागि भन्दै घरमा राखेको काठमाडौं घर भएकी ९ वर्षीया बालिकालाई घरेलु श्रमिक बनाई यातना समेत दिने गरेको बारेमा इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोरालाई जानकारी गराएपछि तत्कालै जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उद्धार गरेको थियो ।
पीडित बालिकालाई सोही राती संरक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको र उनको अविभावकलाई सम्पर्क गरी जिम्मा लगाउने एसपी बोहोराले बताउनुभयो ।
उद्धारको लागि पुगेको प्रहरी टोलीसँग स्थानीय बासिन्दाले रानाको परिवारले उक्त बालिकालाई नियमित रुपमा यातना दिने गरेको बताएका थिए । बालिकालाई यातना दिने रानालाई कानुन अनुसार कारबाही हुने एसपी बोहोराले बताउनु भयो ।