नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनलाई असोज २३ गते काठमाडौँको नयाँबानेश्वर खरिबोटमा अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
महानगरीय प्रहरी प्रभाग शान्तिनगरले खरिबोटमा बा १३ च ४९४८ नम्बरको गाडीमा सवार रहेका बेला अज्ञात समूहले गौचनमाथि गोली प्रहार गरेको जनाएको छ ।
५८ वर्षीय गौचन दिउँसो घरबाट कार्यालयतर्फजाने क्रममा २ बजेर ५५ मिनेटमा उनीमाथि गोली प्रहार भएको हो । दिउँसै भएको गोली प्रहारको घटनाले सर्वसाधारण त्रसित भएका छन् ।
गोली प्रहार भएपछि तत्काल उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको मृत्यु भइसकेको चिकित्सकको भनाई रहेको छ । डा. विमल थापाका अनुसार उनको शरीरमा तीन ओटा गोली लागेको थियो । गौचनको मुटु, कलेजो र मुटु कलेजको बीचमा गरी तीन गोली लागेको चिकित्सकले जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घ कास्कीका संस्थापक अध्यक्षसमेत रहेका गौचनले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका थिए । डाँफे कन्स्ट्रक्सनका सञ्चालक गौचन पछिलो समय महासङ्घको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
प्रारम्भिक अनुसन्धान अनुसार ठेक्कापट्टालाई लिएर हुने लेनदेनको विषयमा विवाद भएको हुनसक्ने भएकाले ‘सार्पसुटर’को प्रयोग गरी उनको हत्या भएको छ ।
मोटरसाइकलमा आएका दुई व्यक्तिले गौचनमाथि गोली प्रहार गरेका थिए । गौचनको गाडीमा अगाडिबाट ड्राइभरको सिटतर्फ इँटा प्रहार गरिएको देखिन्छ भने गौचन बसेको सिट अगाडिको सिसामा गोलीले बनाएका दुईवटा प्वाल समेत देखिन्छ ।
गाडीका चालक रामकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी दिवेश लोहनीले घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहको जनाएका छन् ।




