INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु, घरहरु डुबानमा

कास्कीमा असार ११ गते राती देखि परेको अविरल वर्षा पछिको पहिरोले दुई जनाको मृत्यु भएको छ भने घरहरु डुबानमा परेका छन् ।

मादी गाउँपालिका– ५ चितेपानीमा गएराति दुई बजे कच्ची घर भत्कँदा १३ वर्षीया आयुश्मा रानाभाटको मृत्यु भएको छ भने पहिरोले घर पुरिँदा सँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते हुनुभएको छ ।

यस्तै पोखरा– ७ आरूपाटामा कच्ची घर पहिरोले पुरिँदा ३ वर्षीय बालक अनमोल सुनारको मृत्यु भएको छ भने बालकको आमा रितु सुनार घाइते अवस्थामा उद्धार गरी  गण्डकी मेडिकल कलेज ल्याइएको छ ।

पोखरा महानगरपालिका– ७ गैरीखेतमा अविरल वर्षाको कारण स्थानीय कुमार सुनार र रेशम गुरूङको घरमा पानी पसी डुबानमा परेको छ । तथापि मानवीय क्षती भने भएको छैन ।

यस्तै वर्षाको कारण गएराति कास्की पोखरा महानगरपालिका– ३३ बागमारा स्थित सिप्लिङ तारा टोलमा स्थानीय राम्जी बास्तोला,  सुमन बिक र बाबुराम बस्नेतको कच्ची घर डुबानमा परेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा महानगरपालिका– १४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे ६ बजेको समयमा भासिएको हो । अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधन समेत प्रभावित भएका छन् ।

photo1 081313kaski

photo2081313kaski

अन्य

भिडियो