
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा समग्र जनउत्थान केन्द्रले खडक नगरपालिका-७ कल्याणपुरस्थित साह अतिथि सदनमा ०८१ असार १ गते “महिला, दलित तथा सिमान्तकृत समुदायको न्यायमा पहुँचका लागि मानव अधिकार रक्षकको भूमिका र चुनौती” विषयक अन्तरकृयात्मक छलफल गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले महिला, दलित, सिमान्तकृत वर्ग र मधेशी समुदायको समस्या पहिचान तथा रणनीतिक योजना निर्माण गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नेपालमा जनसङ्ख्याका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक अवसर र लाभको समान वितरण नहुँदा विपन्न नागरिकको सम्मान, पहिचान, उत्थान र विकास हुन नसक्ने दावी उहाँले गर्नुभयो । नीति निर्माण तहमा राज्यलाई सहयोग गर्न तत्पर रहेको आयोगले हालै प्रकाशन गरेको “नेपालमा मधेशी समुदायको वस्तुस्थिति विवरण” पुस्तकले आवश्यक्ता अनुसारको योजना बनाउन सहयोग पुग्ने डा. दत्तले बताउनु भयो । मधेशी समुदायभित्र पनि निकै पछाडि पारिएका महिला, दलित, सिमान्तकृत वर्ग लक्षित सामाजिक, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा दत्तले जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडाले मानव अधिकार हिंसाको मुद्दा पुरानो नहुने भएकोले निरन्तर आवाज उठाएर राज्यलाई जवाफदेही बनाउन सकिने बताउनु भयो । मानव अधिकार रक्षकहरूको कानुन बनाउन, न्यायमा पीडितको पहुँच पुर्याउन, जिल्लाहर”मा राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन गरी जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना समिति गठन गर्न र मानव अधिकारमैत्री संस्कृति निर्माण गर्न सबैले मिलेर पहल गर्नुपर्ने खतिवडाले बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले हिंसा सहेर बस्न बाध्य महिला, दलित, सिमान्तकृत वर्गका लागि आर्थिक सशक्तिकरण, समयअनुकुल कानुन निर्माण र संशोधन, योजना निर्माण, बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमा राज्यलाई जवाफदेही बनाउनु पर्ने बताउनु भयो ।

सप्तरीमा मानव अधिकारको अभियान र आन्दोलनको इतिहास विषयमा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे इन्सेक प्रतिनिधि मनोहर पोखरेल, महिलाको अवस्थाबारे महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरी अध्यक्ष अनीता देवकोटा तथा दलित, भूमिहीनको अवस्थाबारे पत्रकार मणिलाल विश्वकर्माले प्रकाश पार्नुभयो ।

अन्तरक्रियामा सहभागी हुँदै रामदयाल राम, दिपेन्द्र पासवान, मोमिना खातुन, राधा पासवान, चन्द्रनारायण राम, आशा ठाकुर, विश्वेन्द्र पासवान, रामप्रकाश चौधरी, सोनिया मण्डलले विभिन्न जिज्ञासाहरू राख्नु भयो । जिज्ञासाहरूलाई राष्ट्रिय मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडा र एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता राजकुमार महासेठले सम्बोधन गर्नुभयो ।
समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मदन कुमार मण्डलले स्वागत र कार्यकारी निर्देशक देवराज पोखरेलले उद्देश्यबारे मन्तव्य राख्नु भयो ।



