INSEC Online

📅 २०८३ जेष्ठ २१

पाखापानीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

पाखापानीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । जिल्लाको गङ्गादेव गाउँपालिका-४, पाखापानीमा खानेपानीको चरम अभाव हुँदा स्थानीयलाई सास्ती भएको हो ।

गाउँका स्थानीयहरूले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेको यहाँका स्थानीयहरूको भनाइ छ । यहाँ खडेरी र वर्षातको समयमा पानी अपुग भइरहने गरेको गङ्गादेव गाउँपालिका-४, पाखापानीका स्थानीय पर्साराम खत्रीले बताउनु भयो । उहाँका अनुसार खोला खोल्सामा आउने पहिरो एवम् खडेरीले गर्दा पानीको अभाव हुने गरेको छ ।

Photo14062024Rolpa

स्थानीयहरू एक गाग्री पानीका लागि खोलामा धाउन बाध्य छन् । लामो खडेरीका कारण पानीका मुहान समेत सुक्न थालेपछि यस क्षेत्रका स्थानीयहरू झनै समस्यामा परेका हुन् । खानेपानी लिन घण्टौँसम्म हिँडेर पँधेरासम्म जानुपर्ने र उक्त पानी भर्नको निम्ति लाइन बस्नुपर्दा आफूहरू हैरानी भएको स्थानीय खत्रीको भनाइ छ ।

जिल्लाको विकट मानिने पाखापानी गाउँमा ४५ घरधुरी रहेका छन् । स्थानीय सरकार आइसकेपछि केही आस लागेको थियो तर स्थानीय सरकारले पनि खानेपानी समस्याको समाधानमा कुनै चासो नदेखाएको स्थानीय तुलसी वलीले गुनासो गर्नुभयो । हालसम्म कुनै पनि सरकार र सङ्घसंस्थाले खानेपानीको निम्ति पहल नगरेको उहाँको भनाइ छ ।

गाउँमा पानीको धारो समेत छैन । त्यसको प्रत्यक्ष मारमा त्यहाँका सिङ्गो गाउँबासी नै रहेको भए पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक झन् मर्कामा परेका छन् । महिलाहरूलाई महिनावारी हुँदा सरसफाइ गर्न, पानी नहुँदा उनीहरूको स्वास्थ्यमा समेत प्रभाव परेको स्थानीयबासीको भनाइ छ । टाढाबाट घण्टौँ हिँडेर पानी बोक्नु पर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्न परेको छ भने विद्यार्थीहरू पनि प्रभावित हुने गरेका स्थानीय तुफान वलीले बताउनु भयो । गाउँमा पानीको कुनै स्रोत नै नभएपछि पशु चौपायालाई खुवाउन, नुहाउन तथा धुन समेत यहाँका स्थानीयलाई सास्ती भएको उहाँले उल्लेख गर्नुभयो ।

पाखापानी गाउँमा खानेपानीको समस्या उत्पन्न भएको वर्षौँ बितिसकेको भए पनि खानेपानीको उचित मुहान नहुँदा समस्या समाधान गर्न नसकिएको गङ्गादेव गाउँपालिका-४ का वडा अध्यक्ष कृष्ण वलीले बताउनु भयो । वडा अध्यक्ष वलीले उक्त खानेपानी निर्माणको निम्ति गङ्गादेव सरकारबाट बजेट विनियोजन भइसकेकाले छिट्टै समस्याको समाधान हुने बताउनु भयो ।

अन्य

भिडियो