प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी मङ्सिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापकीय तयारीमा आयोग जुटिसकेको बताएको राससले जनाएको छ ।
आज काठमाडौँमा आयोजित साक्षात्कारमा प्रमुख आयुक्त यादवले मङ्सिरमा हुने निर्वाचनको लागि आवश्यक कानुन र ऐन प्राप्त भएपछि अन्य व्यवस्थापकीय तयारीको काम भइरहेको जानकारी दिए ।
आगामी निर्वाचनमा सबै दलका प्रमुख नेताहरू उम्मेदवार हुने भएकाले आचारसंहिताको पूर्णपालना हुनेमा आयोग विश्वस्त रहेको बताउँदै उहाँले आचारसंहिता उल्लङ्घनमा घटनाका सरोकारवाला पक्षसँग छलफल गर्ने बताए ।
आचारसंहिता उल्लङ्घन गरेको कुरा जनताले हेरिरहेको बताउँदै प्रमुख आयुक्त यादवले सबैलाई एकै ठाउँमा राखेर आचारसंहिता उल्लङ्घनबारे बृहद छलफल गर्ने उल्लेख गरे ।
स्थानीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबै राजनीतिक दल, उम्मेदवार र मतदाताप्रति धन्यवाद ज्ञापन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने-यो वर्ष निर्वाचन वर्ष भएकाले सबैले निर्वाचनलाई पर्वको रुपमा मनाउनुपर्छ ।’