नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई गिरफ्तार गरेको छ ।
नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिकाको कार्यालय परिसरबाट जेठ २५ गते ६ जनालाई गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा पर्नेमा रङ्गेली नगरपालिका–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रूकुम यादव, रङ्गेली नगरपालिका–७ का १८ वर्षीय रमणकुमार राय, रङ्गेली नगरपालिका–८ का १९ वर्षीय विषेक झा र रङ्गेली नगरपालिका–२ का २२ वर्षीय मिलन मिश्र छन् ।
निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको आरोपमा नगरपालिकाविरूद्ध आन्दोलन गर्दै नगर प्रहरीमाथि आक्रमण गरेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।
विद्यार्थी समूहको आक्रमणबाट चार जना नगर प्रहरीहरू घाइते भएका छन् । नगर प्रहरी सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएको डिएसपी बस्नेतले बताउनु भयो ।
शरीरका विभिन्न भागमा चोटपटक लागेका घाइते सबैको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकारी विद्यार्थीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवम् रङ्गेली नगरपालिका–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेका छन् ।
जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार गरेपछि विद्यार्थीहरूलाई गिरफ्तार गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।
आन्दोलनकारी विद्यार्थीको समूहले निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको आरोपमा ०८१ जेठ १३ गते नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीहरू आन्दोलन गर्न बाध्य भएको रङ्गेली नगरपालिका–२ का २२ वर्षीय मिलन मिश्रले बताउनु भएको छ ।