INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद र छुवाछूत कानुनमा मात्र उन्मूलन भयो, व्यवहारमा भएन

रामेछापका दलित समुदायका अगुवाहरूले कानुनी रूपमा जातीय विभेद उन्मूलन भएको भए पनि व्यवहारमा अवस्था जस्ताकोतस्तै रहेको बताउनुभएको छ ।

अहिले पनि सामाजिक रूपमा र कतिपय अवस्थामा राज्यले समेत दलित समुदायलाई विभेद र अप्ठेरोमा पारेको दलित अगुवाहरूको गुनासो छ ।

मन्थली नगर कार्यपालिका सदस्य समेत रहनुभएका दलित समुदायका अभियन्ता उद्धव रम्तेल कानुनमा लेखेको कुरा व्यवहारमा कार्यान्वयन नआउँदा दलित समुदाय अहिले पनि आर्थिक सामाजिक उत्पिडनमा रहेको बताउनुहुन्छ । समाजका हरेक मानिसको सोच नबदलिँदासम्म छुवाछूत र विभेद उन्मूलन नहुने उहाँले बताउनुभयो ।

जिल्लाका अर्का दलित अगुवा सीतारम लोहार अहिले पनि दलित समुदायले आफ्नो जात कायम गर्न समेत सङ्घर्ष गरिरहनु परेको बताउनुहुन्छ । आफ्नो जात कायम गराउन राज्यका निकायले नै अनेक कागजात मागेर दलित समुदायलाई दुःख दिने गरेको उहाँको भनाइ छ । सामान्य नागरिकको मात्र होइन राज्यका निकायमा रहेको काम गर्नेको सोच समेत दलित समुदाय प्रति सकारात्मक नभएको उहाँको गुनासो छ ।

जिल्लाको खाँडादेवी गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य समेत रहनुभएका गोपाल नेपाली पनि दलित माथिको विभेदमा कमी नआएको बताउनहुन्छ । ‘दलित माथिको छुवाछूत र विभेद कहिलेसम्म ? यसको जवाफ कसले दिन्छ ?’ उहाँको प्रश्न छ ।

रामेछाप नगरपालिका नगरपालिका प्रमुख लव श्रेष्ठले जातीय भेदभाव तथा छुवाछूत विरुद्धमा नेपाल कानुनी रूपमा मजबुत भए पनि त्यसको कार्यान्वयनमा फितलो हुँदा अझै समाजमा जातीय भेदभाव तथा छुवाछूतका घटना हुने गरेका बताउनुहुन्छ ।

उहाँले जातीय भेदभाव तथा छुवाछूतका विरुद्धमा मन्थली नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालनका लागि वार्षिक रूपमा बजेटको व्यवस्था गर्दै आएको जानकारी दिँदै त्यस्ता कार्यक्रम वडा तहमा सञ्चालन गर्न पनि नगरपालिकाले बजेट व्यवस्थापन गर्न सक्ने बताउँदै अभियन्ताहरूलाई प्रस्ताव लिएर आउन आह्वान गर्नुभयो ।

नगरपालिका प्रमुख न्यौपानेले समाज परिवर्तनका लागि आफू परिवर्तन हुनुपर्ने बताउनुहुन्छ । समाजमा अझै जातीय भेदभाव तथा छुवाछूत रहेकाले रामेछाप नगरपालिकाले यसका विरुद्धमा दलित समुदायको माग अनुसारका कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले खाँडादेवी गाउँपालिकाले दलित समुदायको आर्थिक विकासका लागि सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि सचेतनामूलक कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको र वडाहरूले पनि सहभोज लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेका उहाँले जानकारी दिनुभयो ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला जबसम्म समाजमा सबै मानव बराबर हौँ भन्ने भावनाको विकास हुँदैन तबसम्म जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न निक्कै गाह्रो हुने बताउनुहुन्छ । यसका लागि सचेतनाका कार्यक्रम नै प्रमुख रहेका उहाँले बताउनुभयो ।

यो सचेतना कार्यक्रम दलित समुदायसँगै गैर दलित समुदायको लागि पनि सञ्चालन गर्न आवश्यक रहेको उहाँको धारणा छ । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न आफू र जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

रामेछाप नगरपालिकाका दलित समुदायका अगुवा सरोज कटुवाल जसले भोगेको छ त्यसैले पीडा अनुभूत गर्ने बताउनुभयो । पर बाट पानी थापेर खानुको पीडा कस्तो हुन्छ ? बाहिर बसेर थाला थापेर खाँदाको पीडा कस्तो हुन्छ ? त्यो पीडा खेप्नेलाई मात्र थाहा हुने बताउनुहुन्छ । समाज रूपान्तरणको कुरा निक्कै जटिल भएकोले माथिल्लो तहमा रहनेको सोच समेत बदलिन नसकेको उहाँको गुनासो छ ।

अन्य

भिडियो