INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै कैदको फैसला

१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको  कसुर ठहर गर्दै जिल्ला अदालतले गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गुरुङलाई जेठ १६ गते कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गोपालप्रसाद बस्तोलाको इजलासले जनही १२ वर्ष कैद फैसला गर्दै र कसुरदारहरूको अपराधको प्रकृति हेरेर कसुरदारमध्ये राजकुमार तामाङलाई थप दुई वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एक कैद सजाय र कसुरको प्रकृति अनुसार राजकुमारलाई २० हजार रूपियाँ जरिबाना गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।

पीडितलाई आरोपितहरूले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण धादिङ अस्पतालमा गरिएको थियो । सामुहिकरूपमा भएको घटना र बलात्कार पछिको प्रमाण सङ्कलनको क्रममा डिएनए परीक्षण गर्न नेपाल विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएपछि मुद्दा फैसलामासमेत ढिलाई भएको अदालतले जनाएको छ ।

अन्य

भिडियो