पहिरोबाट विस्थापित भएका सात घर परिवार अझै पुनर्स्थापित हुन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका–२ का सात घर परिवार हालसम्म पुनर्स्थापित हुन सकेका छैनन् ।
पहिरोमा परि २० जना महिला सहित ३९ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उक्त पहिरोले ३५ ओटा घर पुर्नुका साथै १ सय ८० घर जोखिममा परेका थिए ।
घर, जग्गा, बस्तुभाउ मात्र होइन परिवारका आफन्त समेत पहिरोमा परेर मृत्य भएपछि बाँचेका अन्य परिवारका सदस्यहरू काठमाडौँमा विस्थापित भएकोमा सात घर परिवार पुनः आफ्नो गाउँ लिदि फर्कन नसकेको स्थानीय सुनलाल दोङले बताउनु भयो ।
जोखिममा परेका सबै घरका परिवारहरू जुगल गाउँपालिका–१ स्थित सेलाङको बासखर्कमा विस्थापित भएर बस्दै आएका थिए । बासखर्कमा पनि पालमुनि सधै भरि बस्न नसकेपछि १ सय ७ घर परिवार केही समयपछि पुनः जोखिमयुक्त बस्ती लिदिमै फर्केका छन् ।
जुगल गाउँपालिका–१ स्थित सेलाङको बासखर्कमा पाल टाँगेर बस्दै आएकाहरू मध्ये सात घर परिवार काठमाडौँ गएकोमा हालसम्म घर फर्कन सकेका छैनन् ।
लिदिको पहिरोबाट विस्थापित भएकाहरू सबैलाई गाउँमा पुनर्स्थापित गराउन वडा कार्यालयबाट पहल भए तापनि गाउँपालिकाको स्पष्ट योजना नआएकोले पुनर्स्थापित गराउन समस्या भएको जुगल गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्रकाजी लामाले बताउनु भयो ।

