पातारासी गाउँपालिकाका धेरैजसो विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय २१ जना, गंगा माध्यमिक विद्यालय पेरेका २ सय ६० जना, गंगादेवी आधारभूत विद्यालय स्याला गडिगाउँका १५ जना, आधारभूत विद्यालय हुरीमहरीका ६ जना, आधारभूत विद्यालय लुमका ३० जना, मालिका माध्यमिक विद्यालय लोठचौरका ७० जना र सरस्वती माध्यमिक विद्यालय तल्फिका ८० जना गरी ५ सय ८२ जना विद्यार्थी लेकतिर गएपछि पठनपाठन प्रभावित भएको हो ।
‘यार्साबाट कमाएको पैसाले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ, खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई यार्सा टिप्न नपठाइ हुँदैन, ’पातारासी गाउँपालिका–३ चौर गाउँकी काली रावतले भन्नुभयो ।
गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न लेकतिर जानुपर्ने बाध्यताले गर्दा पढाइ हरेक वर्ष प्रभावित हुँदै आएको पातारासी गाउँपालिका–१ स्थिते गंगा माध्यमिक विद्यालय पेरे प्रध्यानाध्यापक गोर्ख बुढा बताउनु भयो ।
विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी यार्सा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको अवधि पाटन लैजाने गरेको उहाँले भन्नुभयो ।
सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका लेकमा यार्सा पाइन्छ । आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन् ।
कम्तीमा पनि दुई महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको सोही गाउँपालिका–४ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रध्यानाध्यापक हरिबहादुर बुढाले बताउनु भयो । यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक लाख देखि दुई लाख बढी रुपैयाँ आम्दानी गर्ने गरेको उहाँले भन्नुभयो । त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्व दिने गरेको पाइन्छ । आधारभूत तहसम्म भने नियमित पढाइ भइरहेको छ । कक्षा ७ देखि १० सम्मका विद्यार्थी धेरै लेकतिर गएका छन् । कक्षा ४, ५ र ६ सम्म थोरै विद्यार्थी लेकतिर गएका छन् ।
माथिल्लो तहका विद्यार्थी नआउँदा कतिपय विद्यालयका पढाइ हुदैन,शिक्षक हाजिर गरेर फर्किने गरेका छन्। यार्साको मौसममा बर्षेनी डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको मालिका माध्यमिक विद्यालयका शिक्षक प्रेमबहादुर हमालले बताउनु भयो ।
पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पूरा गर्न सकस पर्ने गरेको उहाँले भन्नुभयो । ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्न आवश्यक छ ।
१,२, ३, ४ र ५ नम्बर वडा भित्र सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढ्ने अधिकतम विद्यार्थी लेकतिर पुगिसकेको पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख अविराज उपाध्याय बताउनु भयो ।उहाँले भन्नुभयो ‘गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको छ । विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको छ । पातारासी गाउँपालिकामा १६ ओटा सामुदायिक विद्यालय छन् । जसमा निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय ६/६ ओटा र प्राथाम चार वटा छन् । यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी लेकतिर पुग्छन् ।’
