ओछ्यानमा पिसाब फेरेकै आरोपमा ललितपुर जिल्ला भैंसेपाटीको एक होस्टलबाट कुटपिट गरी निकाला गरिएका १० वर्षीय बालकलाई इन्सेक सिन्धुपाल्चोकको पहलमा राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयबाट पीडित बालकलाई न्याय दिलाइएको छ ।
पीडित बालकलाई कक्षा १२ सम्मको पढाइमा छात्रवृत्ति उपलब्ध गराइ सम्पूर्ण खर्च होस्टेलले व्यहोर्ने साथै संरक्षण गर्ने भनी मौखिक सहमती अनुसार संरक्षण गर्दै आएकोमा बिगत केही महिनादेखि बालकले सुतेको समयमा ओछ्यानमा पिसाब फेर्ने समस्या भएकै कारणले होस्टलका सञ्चालक कालिकोट जिल्ला रासकोट नपा–२ स्थायी घरभई ललितपुर जिल्ला भैंसेपाटी होस्टलका पिटर कुमार शर्माले कुटपिट गरी बालकलाई घर फिर्ता पठाएका थिए ।
होस्टेल सञ्चालकले बालकलाई राती ओछ्यानमा पिसाब फेरेकै आरोपमा होस्टेलबाट निस्काशन गर्नु नेपालको संविधान, २०७२ को धारा १८(२), ३१(१), ३९, ४२,(२) र ४८(ख) एवं बालाबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५ र ७ समेतका प्रावधानहरू विपरित भएको भन्दै इन्सेक जिल्ला प्रतिनिधिले होस्टल सञ्चालकलाई फोनमार्फत स्मरण गराउदा समेत अटेर गरेकोले उक्त घटना ०८१ वैशाख ३१ गते राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयमा न्यायका लागि पहल गरिदिन इन्सेकले अनुरोध गरेको थियो ।
इन्सेकको अनुरोधले रिफर गरेको घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको शिक्षा सम्बन्धी अधिकार हनन् भएको ठहर गर्दै ०८१ जेठ ३ गते दुवैपक्षबिच छलफल गराएर नयाँ भर्ना हुने विद्यालयमा लाग्ने सम्पूर्ण पढाइ खर्चहरू जस्तैः भर्ना शुल्क, पोसाक खर्च, पाठ्यपुस्तक, स्टेशनरी, मासिक शुल्कहरु, खाजा र यातायात खर्च समेत आरोपित भैंसेपाटी होस्टेलका सञ्चालक पिटर कुमार शर्माले कक्षा १२ सम्म व्यहोर्ने गरी आयोगले मेलमिलाप गराएको छ ।
इन्सेकको पहलमा आयोगले गराएको मेलमिलापले आफूलाई न्याय भएको महसुस पीडित बालकका बुबा रहरमान तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँग बताउनु भयो ।