INSEC Online

📅 २०८३ जेष्ठ २१

सदरमुकाममा दुई महिनादेखि खाने पानीको अभाव

धादिङ  सदरमुकाम धादिङबेसीमा दुई महिनादेखि खाने पानीको अभाव भएको छ । शुद्ध पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएपनि सदरमुकाम धादिङबेसीमा दुई महिनादेखि खाने पानीको अभाव भएको हो ।

उपभोक्ताहरूको घरघरमा पानी वितरण गर्ने गरि निर्वाचित उपभोक्ता समिति समेत नगरपालिकाले निष्क्रिय बनाएपछि खाने पानी व्यवस्थापनमा दुई महिनादेखि समस्या आएको हो ।

धादिङबेसी पुछारबजार क्षेत्रमा दुई महिनाभन्दा बढी समयदेखि उपभोक्ताको धारामा पानी आउन छाडेको छ । घरमा पानी नआए पछि उपभोक्ताहरूलाई पानी खरिद गरी दैनिकी चलाउनुपर्ने अवस्थामा पुग्दासमेत नगरपालिका र खानेपानी उपभोक्ता समितिको कार्यालले चासो देखाएका छैनन् ।

खाने पानीको  अभाव हुँदा उपभोक्ताहरू आक्रोशित मात्र छैनन् विभिन्न चरणमा आन्दोलसमेत गरिरहेका छन् ।

नीलकण्ठ नगरपालिका –३ मा एमाले चोकदेखि बसपार्क, दूरसञ्चार चोक, गणेशमार्ग क्षेत्र आदीमा पानी आउन छाडेको विषयमा उपभोक्ताहरुले खानेपानी उपभोक्ता समिति र नीलकण्ठ नगरपालिकामा जानकारी गराएपनि बेवास्ता गरेको उपभोक्ताहरुको गुनासो छ । यस क्षेत्रमा नियमित पानी नआएको एक वर्ष भन्दा बढी भएपनि दुई महिनादेखि भने पानी आउनै छाडेको उपभोक्ता लालकाजी श्रेष्ठले बताउनु भयो ।

खानेपानी अभावले कयौँ दिन खाना बनाउन नपाएको, नियमितरुपमा लुगा धुन नपाएर विद्यार्थीहरू मैलो लुगा लगाएर विद्यालय जानु परेको यसक्षेत्रका उपभोत्ताहरुको भनाइ छ ।

पानी नआएको विषयमा सम्बन्धित निकाय, खानेपानी उपभोक्ता समितिलाई पटक पटक जानकारी दिँदा समेत बेवास्ता गरेको उपभोक्ता श्रेष्ठले बताउनु भयो ।

‘करिब २ हजार घर धुरीमा पानी आउन छाडेको छ । घरभित्र पानी नआएको त वर्षदिन भयो ।  घर बाहिर सानो पानी आउथ्यो तर अहिले पानी नआएपछि उपभोक्ताहरु समस्यामा परेका छन् ।,’–उपभोक्ता बालकृष्ण खत्रीले भन्नु भयो ।

धादिङबेसीको पुछारबजार क्षेत्रका केही घरमा थोरै पानी आउने र बोतलमा भरेर खानुपर्ने बाध्यता रहेको छ । सबैजसो उपभोक्ताले नियमित पानीको महशुल भुक्तानी नियमित गरे पनि समस्या पर्दा भने बेवास्ता गर्दै आएको उपभोक्ताहरूको गुनासो रहेको छ ।

सदरमुकाम आउने  पानीको पाइप  डढेलो लागेर फुटेको र बिचमा रहेको बस्तीका व्यक्तिहरूले पाइप फुटाएको पाइए पनि  उपभोक्ता समितिले काम नगरेका कारण मुख्य बजारमा पानीको अभाव भएको नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयो ।

उपभोक्ता समितिलाई तीन वर्ष अघि नगरपालिकाले विघटन गरेको र उपभोक्ता समितिले आफू कायम रहन माग गर्दै  उच्च अदालतमा  मुद्दा दर्ता गरेकोमा हाल मुद्दा विचाराधीन रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । अदालतले नगरपालिकालाई मुद्दा फैसला नहुन्जेल उपभोक्ता समिति विघटन नगर्न र काम गर्न दिन अन्तरिम आदेश दिएको थियो ।

photo2024051501dhading

photo2024051501dhading

अन्य

भिडियो