निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी दिएको छ ।
प्रदेश २ को आठ जिल्लामा तेस्रो चरणमा भएको ‘स्थानीय तह निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी गराएको राससले जनाएको हो ।
तेस्रो चरणमा १ सय ३६ स्थानीय तहका विभिन्न पदका लागि भएको यस निर्वाचनबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यो निर्वाचनमा मतदाताले देखाएको व्यापक सहभागिताले लोकतन्त्रलाई सुदृढ गर्न तथा जनताको अधिकारलाई बलियो बनाउन सहयोग पुग्ने आयोगले विश्वास व्यक्त गरेको छ ।
“पटकपटक सरेर पनि राजनीतिक सहमति र समझदारीका साथ प्रदेश २ को स्थानीय तह निर्वाचन जुन शान्तिपूर्ण र सौहाद्रपूर्ण तरिकाले सम्पन्न हुनलाई सरकार, निर्वाचन आयोग तथा राजनीतिक दल र उम्मेदवारले ठूलै उपलब्धिका रुपमा लिएका छन् र यो निर्वाचनले समृद्ध भविष्यको सन्देशसमेत दिएको छ ।”-पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने ।
सप्तरी जिल्लाको राजविराज नगरपालिका-१५ मा भने राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षका उम्मेदवारको भदौ ३१ गते निधन भएकाले सो वडाका दुई मतदान केन्द्रमा बाहेक आज २ हजार १ सय ६४ मतदानस्थलका तीन हजार ५ सय ७५ मतदान केन्द्रमा मतदान सम्पन्न भएको थियो ।
आठवटै जिल्लाका शहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बज्नुअघि देखि नै मतदान केन्द्रमा पङ्क्तिबद्ध भएर बसेका थिए ।
प्रमुख आयुक्त डा. यादवले भने-“मतदानमा युवापुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन समेतले निकै उत्सुकतापूर्वक सहभागिता जनाउनुभएको, चर्को गर्मीमा समेत मतदाता लामबद्ध भएर मतदानका लागि आतुर देखिनुहुन्थ्यो, यसले मतदाताहरु लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन दृढ र प्रतिबद्ध हुनुहुन्छ भन्ने पुष्टि गर्दछ ।”
सबै राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दर्तामा देखिएको उत्साह र मतदातामा आएको जागरणले स्थानीय सरकारको गठन भई जनताको विकासप्रतिको उर्लंदो चाहनालाई साकार पार्न सहयोग पुग्ने आयोगले विश्वास लिएको छ ।
राजनीतिक दलका प्रतिनिधिको रोहवर वा उपस्थितिमा मतदाताले गोप्य मतदानमार्फत व्यक्त गर्नुभएको जनादेश अब मतपेटिकामा सङ्ग्रहित भएको छ, यसले समस्त राजनीतिक दल र उम्मेदवारले निर्वाचन परिणामलाई स्वीकार गर्नेछन् र मतदाताको मतादेशलाई सम्मान गर्नेछन् भन्नेमा पूर्ण विश्वस्त रहेको आयोगले जनाएको छ ।
आचारसंहिताको पालना, दलहरुबीच सौहाद्रता तथा असल लोकतान्त्रिक संस्कारको विकासका लागि राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताबाट जुन सुझबुझ तथा जिम्मेवारी प्रदर्शन भएको छ, यसले लोकतान्त्रिक अभ्यासमा नेपाल एक खुड्किलो अगाडि बढेको महसुस गरिएको छ, प्रमुख आयुक्त डा. यादवले भने ।
आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पनि अझ राम्रो व्यवहार र समझदारीको विकास हुनेमा आयोग आशावादी रहेको आयोगले जनाएको छ ।
मतदान कार्य सम्पन्न भई मतपेटिका सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने र मतगणना कार्य शुरु भएको पाँच दिनभित्र सक्ने गरी आवश्यक व्यवस्थापकीय र प्राविधिक तयारी गरिएको आयोगले जनाएको छ ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेषगरी महिला तथा दलित समुदायको सहभागिता निकै उत्साहप्रद रहेकामा आयोगले खुशी प्रकट गरेको छ ।
आयोगको राम्रो तयारी र निर्वाचन व्यवस्थापनमा जिल्लास्तरमा खटिनुभएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको अथक प्रयासका कारण कुनै मतदान केन्द्रमा कुनै पनि किसिमको समस्या उत्पन्न भएन र सहज ढङ्गले मतदान कार्यअगाडि बढाउन आयोग सफल भएको सो अवसरमा जानकारी दिइयो ।
आजको निर्वाचनमा नक्कली मतदाता भई मत दिन प्रयास गर्ने ३८ र कानुनको उल्लङ्घन गर्ने अन्य १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि सबै क्षेत्रबाट अहिलेको जस्तै सहयोगका लागि आयोगले अनुरोध गरेको छ ।