INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालको फोहोर व्यवस्थापन नहुँदा मानव स्वास्थ्यमा समस्या

जिल्ला अस्पताल, डडेल्धुराले फोहाेर व्यवस्थापनमा लापरबाही गर्दा मानव स्वास्थ्यमा नै समस्या उत्पन्न भएको स्थानीयहरुको आरोप छ ।

नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था गरिएको भए पनि जिल्ला अस्पताल, डडेल्धुराले फोहाेर व्यवस्थापनमा लापरबाही गरेपछि संवैधानिक अधिकारको उपभोग गर्नबाट आफूहरु वञ्चित हुनुपरेको स्थानीयहरुको गुनासो छ ।

डडेल्धुरा अस्पतालले अझै पनि परम्परागत शैली र प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको पाइएको छ । फोहोर संशोधन गर्ने मेसिनले धान्ने भन्दा बढी फोहोरमैला अस्पतालबाट निस्कीन थालेपछि बजार नजिकै सानो खाल्डोमा सबै प्रकारका फोहोर फाल्ने गरिएको छ ।

O
O

अस्पताल भन्दा २ सय मिटर टाँढा औषधिजन्य फोहोर समेत खाल्डोमा राखेर मन लागेको दिन जलाउने गरिएको छ ।

अस्पताल नजिककै हिँड्नेबाटो छेउमै सानो खाल्डोमा जोखिमपूर्ण फोहोरलाई (संक्रमित, प्याथोलोजिकल औषधिजन्य, धारिलो) वर्गीकरण समेत नगरी अव्यवस्थित रुपमा फोहोर फाल्ने गरिएको छ ।

फोहाेर फालिएको बाटो भएर सर्वसाधारण नागरिक, शिक्षक, विद्यार्थी र सरकारी कर्मचारीहरु दैनिक ओहाेरदोहाेर गर्ने गरेका र सानो खाल्डोमा फालिएको अधिकाँस फोहोरका डंगुरहरु बाँदरले यताउता पुर्‍याउने गरेको स्थानीय अनिल पाठकले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ बाँदरले प्लास्टीकका पोकाहरू कुनै दिन कसैको घरको छत, खेतबारी त कुनै दिन सरकारी कार्यालयको छत तथा आँगनमा पुर्‍याएको हुन्छ । पानी परेको दिन अस्पतालले फालेको औषधिजन्य फोहाेर घरखेतमा पुग्ने गरेको छ । यसले स्वास्थ्यमा संक्रमण फैलाउने जोखिम बढेको छ ।’

अस्पतालले व्यवस्थापन नगरी अस्पताल र ज्ञानोदय विद्यानिकेत अगाडि फालेको फोहर कुहिँएर दुर्गन्धित भएपछि अस्पतालमा आउने बिरामी र ज्ञानोदय विद्यानिकेतमा अध्ययनरत ५ सय बढी विद्यार्थीहरू आजित भएका छन् ।

O
O

फोहोर जलाएको धुलो र धुँवा विद्यालयको क्षेत्रमा आउँदा एक किसिमको तनाव सिर्जना हुने गरेको र विद्यालयको चमेना घरमा समेत फोहाेर जलाएको धुँवाले जोखिम बढाएको ज्ञानोदय विद्यानिकेतनका प्रधानाध्यापक जगदिश धामीले बताउनु भयो ।

नवीनतम प्रविधि जडान गरेर फोहाेरको प्रशाेधन भइरहेको भए पनि बिरामीको बढ्दो चापसँगै फोहोर पनि बढ्दै गएकोले फोहाेर व्यवस्थापनमा समस्या उत्पन्न भएको अस्पतालका निमित्त मेसु डाक्टर सन्तोषकुमार गुप्ताले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘फोहोर छुट्याउने नवीनतम प्रविधि छ तर त्यो अपुग भएको छ । अब नयाँ भवनमा छिट्टै नयाँ मेसिनसहितको सुविधा थपिदै छ । यो मेसिनले फोहोरलाई स–साना टुक्रा गरेर धुँलो पार्छ । त्यसपछि संक्रमणको जोखिम पनि हुँदैन ।’

O
O

वैकल्पिक व्यवस्थापनका लागि खाल्डो खन्नेर फोहोर जलाउने गरिएको भए पनि नयाँ प्रसूती गृहको भवनमा फोहाेर प्रशोधन केन्द्र निर्माण भइरहेकोले यो समस्या छिट्टै समाधान हुने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले बताउनु भयो ।

 

 

अन्य

भिडियो