वर्षेनी कर्णाली प्रदेशमा डढेलोका कारण धनजनको क्षति हुने गरेको छ । त्यो सँगै चराचुरुङ्गी, वन्यजन्तु र जङ्गल खरानी हुने गरेका छन् । जङ्गलमा डढेलो लागेपछि बस्तीमै फैलिन सक्ने भएकोले स्थानीयबासी उपलब्ध स्रोत र साधन प्रयोग गरी डढेलो निभाउन सक्रिय हुन्छन् । तर, डढेलो निभाउने उपुयक्त उपकरण नहुँदा धेरै नोक्सानी हुने गरेकाे छ ।
आगलागीबाट कैयौँ व्यक्ति जलेर घाइते हुने गरेका छन् । डढेलोमा परेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो छ । ०८१ वैशाख महिनामा डढेलोमा परी कालीकोटमा दुई, रुकुमपश्चिममा एक र डोल्पामा ६ गरी नौ जनाको मृत्यु भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षको सुरुवातमा मात्रैै डढेलो परी कर्णालीमा १ सय ३ चौपाया मरेका छन् ।
कर्णालीमा ३२ हजार ८ सय १८ हेक्टर जङ्गलमा डढेलो लागेको छ । सबैभन्दा धेरै सुर्खेतमा १६ हजार ६ सय हेक्टरमा डढेलो लागेको छ भने सबैभन्दा कम हुम्लामा २ सय ४० हेक्टरमा डढेलो लागेका वरिष्ठ वन अधिकृत श्रेष्ठले बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार कालीकोटमा २ सय ४१ हेक्टर, दैलेखमा ४ सय ४५ हेक्टर, रुकुमपश्चिममा १ हजार २ सय ३४ हेक्टर, सल्यानमा ५ हजार ३ सय २८ हेक्टर, डोल्पामा ८ हजार ७ सय ३० हेक्टर जङ्गलमा डढेलो लागेको छ । जाजरकोट, जुम्ला र मुगुको तथ्याङ्क भने मन्त्रालयसँग छैन । उक्त जिल्लाको तथ्याङ्क सङ्कलन भइरहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा तीन ओटा दमकल छ । दमकल बाटो भएको ठाउँमा मात्र जान्छ । अन्यत्र डढेलो निभाउन सुरक्षाकर्मी र स्थानीयबासीको भर पर्नुपरेको वीरेन्द्रनगर–१४ गढीका स्थानीय रमेश रोकायले गुनासो गर्नुभयो ।
जिल्ला वनका कर्मचारी तथा सुरक्षाकर्मी दिउँसोको समय र बस्ती नजिक डढेलो लागेछ भने मात्र निभाउन आउँदा अरूको भर परेर धेरै क्षति हुने गरेको उहाँले बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइ नागरिकलाई सचेतना गराउन सके मात्रै वन जङ्गलको संरक्षण हुन सक्ने उहाँको भनाइ छ ।
डढेलो नियन्त्रण गर्नुभन्दा डढेलो लाग्न नदिनका लागि सञ्चार माध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण गर्ने काम भइरहेको डिभिजन वन कार्यालय, सुर्खेतका वन अधिकृत वसन्तबावु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ८४ प्रतिशत डढेलोका घटना मानव सिर्जित गतिविधिका कारण हुने गरेका छन् । यसैगरी मानिसकै लापरबाही र चोर सिकारीको कारण वनमा डढेलो लाग्ने गरेको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष ०७७/०७८, ०७८/०७९, ०७९/०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका थिए । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत ६, जुम्लामा ६ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुम पश्चिममा दुई र हुम्लामा दुई जनाको मृत्यु भएको छ । चैत महिनामा मात्रै आगलागीमा परी कर्णालीमा सात जनाको मृत्यु भएको छ । ४ वर्षमा २ सय ७८ घर परिवार विस्थापित भएका छन् । ३ सय ५८ पशुचौपाया आगलागीमा परेर मरेका छन् । चार वर्षमा सबैभन्दा बढी जुम्लामा १ सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा ४ र हुम्लामा दुई घर परिवार विस्थापित भएको तथ्याङ्क छ ।
आगलागी तथा विभिन्न विपद्मा तत्काल उद्धारका लागि प्रहरीले कर्णालीका १० आटै जिल्लामा प्रहरी इन्स्पेक्टरको नेतृत्वमा ३५ जनाको टोली २४ सै घण्टा तयारी अवस्थामा राखिएको एसएसपी वलीले जानकारी दिनुभयो ।
