INSEC Online

📅 २०८३ जेष्ठ २१

राजविराज नपा-१५ को निर्वाचन स्थगित र नयाँ कार्यक्रम प्रकाशित

वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि राजविराज नपा-१५ अन्तर्गतको मतदानलगायत अन्य निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम असोज १ गते स्थगित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको असोज १ गतेको निर्णय अनुसार सो वडाको मतदान स्थगित गरिएको सूचना कार्यालय र सम्बन्धित मतदान स्थलमा टाँस गरिएको सहायक मतदान अधिकृत किरणकुमार सिंहले जानकारी दिए ।

वडा अध्यक्ष पदको निर्वाचनका लागि मनोनयन पत्र दाखिला भई उम्मेदवारको अन्तिम नामावलीमा नाम कायम भएका राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको रक्त क्यान्सरका कारण भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज १ गते नै राजविराज नपा-१५ का लागि संशोधित निर्वाचन कार्यक्रम समेत प्रकाशित गरेको छ । निर्वाचन कार्यक्रमअनुसार असोज ३ गते मनोनयन पत्र दर्ता गर्ने र असोज ५ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने सूचना प्रकाशित गरिएको छ ।

राजपा नेपालका तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारको मृत्यु भएका कारण सो वडाको सो पदका लागि राजपा नेपालका तर्फबाट मात्र उम्मेदवारको मनोनयन पत्र पेश हुने छ । राजविराज नपा-१५ अन्तर्गतका मतदान केन्द्र बाहेक अन्य वडाको मतदान केन्द्रमा साविक निर्वाचन कार्यक्रमअनुसार नै असोज २ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ ।

अन्य

भिडियो