जिल्लाको विकट मानिने राप्ती नगरपालिका–१३ कान्दा गाउँमा स्वास्थ्य चौकी सञ्चालनसँगै स्थानीयहरूले राहत महसुस गरेका छन् । वर्षौपछि प्राथमिक तहको उपचार सुविधा गाउँमै पाउदा गाउँलेहरू खुसी भएका छन् ।
उक्त ठाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयहरू समान्य बिरामी हुँदा पनि चार घण्टाको बाटो हिँडेर वासवाङ स्वास्थ्य केन्द्र पुग्नु पर्ने अवस्था रहेको थियो । ०८० पुस १५ गते मेयर शमशेर लामाले स्वास्थ्य चौकीको उद्घाटन गरेपछि स्वास्थ्य अहेव अमृता चौधरीले सेवा दिइराख्नु भएको छ । स्वास्थ्य संस्थाबाट मासिक १ सय जना नागरिकले सेवा लिने गरेका छन् ।
चितवनको विकट कान्दागाउँमा २०६७ जेठ महिनामा बाबुराम चेपाङका परिवारका आठ जनाले विषालु च्याउ खाएर बिरामी परेपछि उपचार नपाएका कारण मृत्यु भएको थियो । उक्त घटनामा च्याउ नखाएका एक दुधे बालक मात्र बाँचेका थिए ।
च्याउ खाएर बिरामी परेपछि गाउँलेहरूले बचाउनका लागि धामी झाँक्री लगाएर झारफुक गरे पनि निको हुन सकेन । यातायातको असुविधा रहेको उक्त गाउँमा उपचार सम्भव नभएपछि स्थानीय कान्देश्वरी आधारभूत विद्यालयका शिक्षक बालकृष्ण थपलियाको अगुवाइमा बिरामीलाई १२ घण्टाको बाटो डोकोमा बोकेर भरतपुर अस्पतालसम्म पुर्याएका थिए ।
घटना भएको केही दिनमै आठ जनाको मृत्यु भयो । “समयमै उपचार पाएको भए उनीहरू बाँच्ने थिए । त्यो घटना सिंगो समुदायका लागि अत्यासलाग्दो र चिरस्मरण रहने गरि गढेर बसेको छ ।” विद्यालयका प्रधानाध्यापक थपलियाले बताउनु भयाे।
गाउँमा आधारभूत उपचार सुविधा मात्र आएको छैन, मोटरबाटो पनि नजिक पुगेको छ । ‘गाउँमै स्वास्थ्य चौकी आयो, मोटरबाटो पनि छिट्टै आउँछ भन्ने विश्वास छ ।’ प्रजाले भन्नुभयो ।
कान्देश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर प्रजा च्याउ खाएर मृत्यु भएको घटनापछि गाउँमा चेतना र सुविधाहरू बढ्दै गएको बताउनु हुन्छ ।
‘आधुनिक उपचार विधिबाट टाढा रहेका र सकेसम्म गाउँ घरमै प्राकृतिक उपचार रूचाउनेहरू हाल प्रेसर जाँचौ भन्दै आउनु हुन्छ ।,’– अहेव अमृताले भन्नु भयो ।