INSEC Online

📅 २०८३ जेष्ठ २१

सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ ।

दुवै देशका सुरक्षा निकायसँगैको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए ।

महोत्तरीका १५ स्थानीय तहमध्ये पाँच ओटाको सीमा भारतसँगै जोडिएको छ । मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ । ३८.४ किलोमिटर सीमाक्षेत्र सिल गरिएको छ ।

निष्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्न भदौ ३१ गते बिहान ७ बजेदेखि असोज २ गते साँझ ७ बजेसम्मका लागि सीमा नाका बन्द गरिएको सिडिओ श्रेष्ठले बताए ।

सिडिओ श्रेष्ठले स्थानीय चुनावमा खुला सीमाको फाइदा उठाउँदै अरपराधिक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी सीमा सिल गरिएको बताए । उनले सीमा सिल अवधिमा कोही पनि सीमाबाट आवतजावत गर्न नपाउने बताए ।

निर्वाचनमा अन्तरदेशीय अपराध ठूलो चुनौती बन्न सक्ने ठहर गर्दै सुरक्षा प्रबन्ध मिलाइएको सिडिओ श्रेष्ठले बताए । उनका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएकोले मतदाताले सुरक्षित भएको महसुस गरेको जनाए ।

सुरक्षा व्यवस्था चुस्तदुरूस्त बनाउन नेपाल-भारतका सुरक्षा निकायको संयुक्त गस्ती, सीमा नाकामा सघन चेक र हातहतियार भित्रिन नदिन विशेष निगरानी टोली परिचालन गरिएको सिडिओ श्रेष्ठले बताए ।

यसैबिच प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले उनले सुरक्षा व्यवस्था चुस्त दुरूस्त भएकोले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । उनले असोज २ गते हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको बताए ।

पर्साबाट जलेश्वरसम्म आइपुग्दा निर्वाचन तयारीको अवस्था ज्यादै सन्तोषजनक पाएको उनले बताए । उनले भने- ‘निर्वाचन व्यवस्थापन ज्यादै नै सन्तोषजनक छ । ढुक्क भएर मतदान गरौँ ।’

अन्य

भिडियो