राप्ती नगरपालिका–१३ स्थित कालिटार आधारभूत विद्यालयमा पठनपाठनका लागि कक्षा कोठा अभाव भएपछि बाँसको टहरा निर्माण गरेर कक्षा कोठा बनाइएको छ ।
उक्त विद्यालय २०५३ सालमा स्थापना भएर कक्षा सातसम्म सञ्चालन रहे पनि यस वर्ष कक्षा आठसम्मको आधारभूत विद्यालय तहको अध्यापन अनुमति पाएको थियो ।
अधिकांश चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा कक्षा कोठा अभाव भएपछि विद्यालयले बाँसको टहरा बनाएर पठनपाठन थालिएको छ ।
लामो समयसम्म कक्षा पाँच सम्म मात्रै पठनपाठन हुने उक्त विद्यालयमा उपल्लो कक्षा नहुँदा विद्यार्थीले पढाई छाड्ने क्रम बढेको थियो ।
दुई वर्ष अघि कक्षा ६ र गत वर्ष कक्षा सातको पढाइ भएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनु भयो । कक्षा कोठा कम हुँदा दुई ओटा कक्षालाई एक ठाउँमा राखेर पढाउन बाध्य भएको उहाँको भनाइ छ ।
पढाइ सञ्चालन गर्ने अनुमति पाए पनि पढाउनका लागि कक्षा कोठा नहुँदा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर प्रजाले बताउनु भयो ।
केन्द्र, प्रदेश र स्थानीय सरकार समस्याका बारेमा जानकार भए पनि समाधानका लागि कुनै काम नभएको उहाँले आरोप लगाउनु भयो ।
राप्ती नगरपालिकाका मेयर शमशेर लामाले उक्त विद्यालयमा नयाँ भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट छुट्टाउने बताउनु भयो । विद्यालयमा यस वर्ष २ सय १७ जना बालबालिका अध्यनरत छन् ।