जिल्लाको भित्री मधेसमा सञ्चालित जोगबुढा अस्पतालमा राखिएको एक्सरे मेसिन बिग्रिएको एक महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा यस क्षेत्रका बिरामी तथा सेवाग्राहीहरुले सास्ती खेप्नुपरेकाे छ ।
जिल्लाको आधा जनसङ्ख्या रहेको भित्री मधेसमा एक मात्रै अस्पताल रहेको जोगबुडा अस्पतालमा एक्सरे मेसिन बिग्रिएपछि स्थानीयहरूले महँगो मुल्य तिरेर जिल्ला सदरमुकाम, डडेल्धुरा तथा धनगढी जानु पर्ने बाध्यता रहेको स्थानीय प्रेणा नेपालीले दुखेसो पोख्नु भयो ।
एक्सरे मेसिन बिग्रिएपछि अधिकांश बिरामीहरु उपचार गर्नबाट वञ्चित हुनुपरेकोले सम्बन्धित निकाय तथा सरोकारवाला पक्षहरुले तत्काल एक्सरे मेसिन बनाउनका लागि पहल गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
एक्सरे मेसिन बिग्रिदा उपचारका लागि भित्री मधेसका विभिन्न ठाउँबाट आएका अधिकांश स्थानीय उपचार नै नगरी घर फर्किने गरेको स्थानीय सेवाग्राही अर्जुन धामीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘पहिले पनि बेलाबेलामा एक्सरे मेसिन बिग्रिन्थ्यो । तर, चार / पाँच घण्टापछि सञ्चालनमा ल्याइन्थ्यो । यसपाली एक्सरे मेसिन बिग्रिएको महिना दिन बितिसक्यो । कहिले सञ्चालनमा आउछ केही थाहा छैन् ।’
जोगबुढा अस्पतालमा दैनिक १ सय भन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि एक्सरे गर्नु पर्ने बिरामीहरु उपचार नै नगरेर घर फर्किनु पर्ने र एक्सरे गर्नकै लागि जिल्ला सदरमुकाम तथा अन्य जिल्ला जानु पर्ने बाध्यता सृजना भएको छ ।
अस्पतालमा एक्सरे मेसिन राख्नका लागि उचित कोठा नभएको कारण पनि पटकपटक एक्सरे मेसिन बिग्रिने गरेकोले सेवाग्राहीहरुले समस्या झेल्नु परेको अस्पतालका रेडियोग्राफर अर्जुन नेपालीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘मेसिन राख्नलाई सुविधा सम्पन्न कोठा पनि छैनन् र विद्युतको समस्या पनि छ । विभिन्न कारणले गर्दा सेवाग्राहीहरुलाई सहज रुपमा सेवा दिन सकिएको छैन । बेलाबेला समस्या आइरहन्छ ।’
एक्सरे मेसिनको हार्डवयरमा नै समस्या देखिएकोले मर्मतका लागि धनगढी पठाइएको र धनगढीमा सामग्री नपाउँदा काठमाडौँबाट मगाउनु पर्ने भएकोले मर्मत गर्न ढिलाई हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेका भए पनि केही दिनमै समस्या समाधान हुने अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र चौधरीले बताउनु भयो ।