राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ ।
राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार यादवको रक्त क्यान्सरबाट मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भने घरैमा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।
कुश्ती खेलका राष्ट्रिय खेलाडीसमेत रहेका यादव यस अघि नेकपा (एमाले) बाट साबिक देउरीभरुवा गाउँ विकास समितिको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले वडा अध्यक्षका उम्मेदवार यादवको मृत्यु भएको अनौपचारिक जानकारी पाएको र लिखित रुपमा जानकारी आएपछि उक्त वडाको मतदान कार्य केही समयका लागि स्थगन गरिने बताए । राजविराज नगरपालिकाको अन्य वडाहरुमा असोज २ गते नै मतदान हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।