प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीतका कार्य गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।
आयोगको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नं. ८ का राष्ट्रिय जनता पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार मनोजकुमार चौरसियासँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।
‘तपाई सहितका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले बाराको कलैयामा निर्वाचन आचारसंहिताले तोकेभन्दा ठूलो साइजको माइकिङ (डि.जे.) र व्यानर प्रयोग गरी निर्वाचन प्रचारप्रसारमा संलग्न रहेको अवस्थामा आयोगको टोलीले उक्त सामग्री नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको सूचना आयोगमा प्राप्त हुन आएको हुँदा आचारसंहिता विपरीतका उक्त क्रियाकलापमा संलग्न भएवापत तपाईँको उम्मेवारी रद्द किन गर्न नपर्ने हो ?’-आयोगले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी निर्वाचन अनुगमनको क्रममा प्रमु्ख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले बारा जिल्लाको पर्सौनी गाउँपालिकाको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पदका उम्मेदवार विनोदप्रसाद जैसवालको नेतृत्वमा निर्वाचन आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि आयोगले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
‘भदौ ३० गते तपार्इँसहितको माओवादी केन्द्रका कार्यकर्ताहरूले बाराको पर्सौनीमा माओवादी केन्द्रको निर्वाचन चिन्ह अङ्कित टिसर्ट, भेष्ट, टोपी, गम्छा लगाई मोटरसाइकलसहितको र्याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिँदा सो वापत तपाईँको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?’-आयोगले सोधेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी बारा जिल्लाको सिमरा विमानस्थलमा नेकपा (एमाले) को तर्फबाट जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण पौडेलको नेतृत्वमा सयौँका सङ्ख्यामा नेता तथा कार्यकर्ताले एमालेको निर्वाचन चिन्ह अङ्कित टिसर्ट, भेष्ट, टोपी, गम्छा लगाई तोकिएको मापदण्डभन्दा ठूलो आकारको पार्टीको झण्डासहितको र्याली निकाली निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेट्टाएपछि आयोगले पौडेललाई २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।