१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दार्चुला जिल्ला व्यास गाउँपालिका-६, हुती घर भई काठमाडौँ जिल्ला टोखा नगरपालिका-९, दिपज्योती मार्गमा बस्ने २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही जिल्ला हरिवन नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९ बस्ने ३७ वर्षीया कान्छीमाया घिसिङलाई प्रहरीले ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडितहरूलाई आरोपितहरूले टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजाघरमा आर्थिक प्रलोभन र डर त्रास देखाएर जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा वैशाख १८ गते मौखिक उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा आरोपितहरूलाई वैशाख १८ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले पीडितहरूलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको एसपी मिश्रले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण वैशाख १८ गते थापाथलीस्थित प्रसूति गृहमा गरियो । आरोपितहरूलाई वैशाख १९ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिनुभयो ।