स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते सिरहाको लहानमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेक अध्यक्ष तथा नागरिक अभियानका सह अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य भए पनि नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए ।
अध्यक्ष प्याकुरेलले मतदाताहरू कसलाई मतदान गर्नेबारेमा सजग भएकोले उम्मेदवारहरूले जति आफ्नो पक्षमा पार्न प्रयास गरे पनि सफल नहुने बताए ।
निर्वाचन आचारसंहिताको कुनै पनि दलले पालना नगरेको बताउँदै अध्यक्ष प्याकुरेलले मौन अवधिमा झनै आचारसंहिता उल्लङ्घन हुने भएकोले सबैजना सजग हुन आग्रह गरे ।
असल समाज निर्माणको लागि तडकभडक र सांस्कृतिक विभेद सबै मिलेर हटाउन आवश्यक रहेकाले, अब असोज २ गते हुन लागेको स्थानीय तहको चुनावमा सबै निर्वाचन पर्यवेक्षकले मिलेर साझा प्रतिवेदन बनाएर आयोग र जिल्लामा पनि बुझाउन आग्रह गरे ।
त्यसैगरी नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्र अर्यालले लोकतन्त्रको मूलमन्त्र आवधिक निर्वाचन भएकाले यसको महत्व रहेको बताए । नेपालमा भएका हरेक आन्दोलन जुनसुकै उद्धेश्यले भएको भएपनि त्यसमा लोकतन्त्र जोडिएको उनले बताए । निर्वाचन आचारसंहिता स्थानीय आवश्यकता अनुसार निर्माण भए/नभएको समीक्षा गर्नुपर्ने उल्लेख गर्दै उनले अहिलेको स्थानीय निर्वाचनमा आचारसंहिताको व्यापक उल्लङ्घन हुँदा पनि त्यसलाई नियन्त्रण गर्न राज्य असफल भएकाले यसको परिमार्जनको आवश्यकता रहेको बताए ।
राजनीतिक दलका नेताहरूले आफै कानुन बनाउने र आफैँ उल्लङ्घन गर्ने परिपाटी भएकोले पालना गर्ने मात्र कानुन बनाउनु पर्नेमा जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा मानव अधिकार आयोग, मानव अधिकारकर्मी, संचारकर्मी, नागरिक समाजका अगुवाहरूले जिल्लामा निर्वाचन आचारसंहिता विपरीत ठूलाठूला स्वरमा लाउडस्पिकर र डिजे बजाइने गरेको, मतदाता शिक्षा प्रभावकारी नभएको, सबै राजनीतिक दलले भोजभतेरमा ठूलो रकम खर्च गर्ने गरेको, ठूलाठूला झण्डा र तुल व्यानर राखी प्रचारप्रसार गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोग र सरकार असफल रहेको बताएका थिए ।