चितवनको राप्ती नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका गर्भवती महिलाको मृत्यु नहोस भनी विकट बस्तीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्थाको अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न राप्ती नगरपालिका–१३ स्थित वासवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको मेयर शमशेर लामाले बताउनुभयो ।
बर्थिङ सेन्टर सञ्चालनसँगै भौगोलिक विकटताका कारण सुत्केरी व्यथा लागेपछि गर्भवती महिलालाई डोकोमा बोकेर पाँच घण्टाको दुरीमा रहेको भण्डारा अस्पताल पुर्याउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।
मेयर लामाका अनुसार गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनका लागि विकट क्षेत्र वासवाङमा चौबिसै घन्टा सेवा दिने गरी बर्थिङ सेन्टर स्थापना गरिएको हो । स्वास्थ्य चौकीमा आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको मेयर लामाले बताउनु भयो ।