INSEC Online

📅 २०८३ जेष्ठ २१

थवाङ गाउँपालिकाका अध्यक्ष अज्ञात समूहद्वारा अपहरित

थवाङ गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय वीरबहादुर घर्ती ‘वियोग’ भदौ २९ गते राति अज्ञात समूहको अपहरणमा परेका छन् ।

थवाङ गाउँपालिकामा हुन गइरहेको गाउँ सभाको तयारी गरी भदौ २९ गते राति थवाङ गाउँपालिका-२ कोइचावाङस्थित ससुराली जाने क्रममा बाटोबाटै अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

उनको खोजीका लागि जिल्लाका प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिएका छन् ।

डिएसपी वीरेन्द्र थापा नेतृत्वको प्रहरी टोली भदौ ३० गते बिहान थवाङ पुगेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित घर्तीलाई कसले अपहरण गर्‍यो भन्ने खुल्न सकेको छैन । उनको अवस्था ३० गते मध्यान्हसम्म पनि अज्ञात रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ ३१ गते उद्घाटन गर्न तयारी गरिएको थवाङ गाउँपालिकाको गाउँसभालाई प्रभावित पार्ने गरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको हुन सक्ने माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले आरोप लगाएका छन् । तर, अहिलेसम्म अपहरणको कसैले पनि जिम्मा लिएको छैन ।

अन्य

भिडियो