मटिहानी नगरपालिका–६ स्थित जरलहवा र मुस्लिम टोलमा ०८१ वैशाख १२ गते भएको भीषण आगलागी घटनाको पीडितलाई तत्काल राहत तथा व्यवस्थापनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतको संघसंस्थाहरूले वैशाख १८ गते प्रेस विज्ञप्ती मार्फत तीन तहको सरकारसँग आग्रह गरेको छ ।
उक्त घटनाको इन्सेक मधेस प्रदेशको नेतृत्वमा एडभोकेसी फोरम, राष्ट्रिय मानव अधिकार आयोग, ओरेक धनुषा, मुक्ति नेपाल, सिरहा, थर्ड एलाइन्स, मानव अधिकारका लागि महिला एकल महिला समूहलगायतको मानव अधिकारकर्मी संघसंस्थाहरूले वैशाख १४ गते अनुगमन गरेको थियो ।
घटनाको अनुगमन पश्चात वैशाख १८ गते इन्सेक मधेस प्रदेश, ओरेक धनुषा, मुक्ति नेपाल, सिरहा, थर्ड एलाइन्स, मानव अधिकारका लागि महिला एकल महिला समूह, सामूहिक सरोकार समाज नेपाललगायतका मानव अधिकारकर्मी संघसंस्थाहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेको हो ।
आगलागीबाट ९४ ओटा घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने नौ ओटा घरमा आंशिक क्षति भई १ करोड ६२ लाख ८५ हजार रुपियाँ बराबरको सम्पति क्षति भएको विज्ञप्तीमा उल्लेख छ । साथै, आगलागीबाट १ सय ३ घर परिवार पीडित भएको छ भने बस्तीका बालबालिकाहरूको अध्ययन सामग्रीहरु जलेर नष्ट भएको छ, जसले गर्दा बालबालिकाहरू पढाइबाट वञ्चित रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, परालको कुन्युबाट बिहान १२ बजेदेखि सल्किएको आगो ७ बजे साँझ नियन्त्रणमा आएको र आगोले मुश्लिम र हत्ता टोलका घरहरू पूर्ण रुपमा जलेर खरानी भएको अनुगमनका क्रममा पाइएको र आगलागीका कारण मानवीय क्षति नभए पनि १ सय २५ ओटा भन्दा बढी घरगोठ, सात ओटा चौपाया जलेको समेत विज्ञप्तीमा लेखिएको छ ।
त्यसैगरी, आगामी दिनमा आगजनी लगायतका प्राकृतिक विपदका घटनालाई मध्यनजर गर्दै पालिका तथा वडास्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई क्षमता अभिवृद्धि गराई, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका पूर्व तयारीका योजनाहरू निर्माण गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनका लागि विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् ।