महाकाली नगरपालिकाले चालु शैक्षिक सत्रबाट नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा निः शुल्क शिक्षा सञ्चालनमा ल्याएको छ ।
नगरपालिका क्षेत्रका ४६ ओटा सामुदायिक विद्यालयलाई पत्राचार गरी नयाँ शैक्षिक सत्रदेखि कुनै प्रकारको शुल्क नलिन पत्राचार गरेपछि यस क्षेत्रका विद्यालयहरुमा निःशुल्क भर्ना तथा पठनपाठन सुरु भएको छ ।
नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको सुनश्चितता गरिएकोले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।
विगतका वर्षहरुमा नगरभित्रका केहि विद्यालयले वार्षिक रुपमा विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएकोमा चालु शैक्षिक सत्रबाट विद्यार्थी तथा अभिभावकबाट लिइने शुल्क नगरपालिकाले बन्द गराएको हो ।
विगतका वर्षमा महेन्द्र नमूना मावि, खलंगाले भर्नाकै नाममा शुल्क उठाउँदै आएको भए पनि यस शैक्षिक सत्रमा कुनै पनि शुल्क नलिई विद्यार्थी भर्ना गरेको स्थानीय अभिभावक विमला धामीले बताउनु भयो ।
यो वर्ष छोराछोरीलाई निःशुल्क रुपमा विद्यालयमा भर्ना गर्न पाउँदा बल्ल सरकारी विद्यालयमा भर्ना गरेको महसुस भएको उहाँले बताउनु भयो ।
अहिले महाकाली नगरपालिका क्षेत्रका ४६ ओटै विद्यालयमा निःशुल्क रुपमा विद्यार्थी भर्ना अभियान चलिरहेको महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अहिले सबै विद्यालयमा भर्ना शुल्क लगायत शैक्षिक शुल्क लिन बन्द गराएका छौँ । कुनै पनि बहानामा विद्यार्थीबाट शुल्क लिन नहुने नगरपालिकाले निर्णय गरेपछि विद्यालयमा पत्राचार गरेका छौँ ।’
सदरमुकाम खलंगामा रहेका संस्थागत विद्यालयहरुमा समेत शुल्कमा एकरुपता ल्याउने प्रयास भएको उहाँले बताउनु भयो । ‘हामीले सबै विद्यालयसँग कुन शिर्षकमा कति रकम लिएको भन्ने बारे रेकर्ड माग गरेका छौँ,’उहाँले भन्नु भयो, ‘सकेसम्म सबै विद्यालयमा एकरुपता आउँछ ।’
‘शिक्षा क्षेत्रमा सुधार ल्याउनु जरुरी थियो,’ महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले भन्नु भयो, ‘त्यहिअनुसार नगरपालिकाले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन खोजेको हो ।’ शिक्षाको सुधार नगरिकन शैक्षिक नगर, सम्बृद्ध नगरपालिका बनाउन सकिदैन् । शिक्षामा दक्ष जनशक्ति उत्पादनको लागि पनि शिक्षा सर्वशुलभ हुनु पर्छ उपप्रमुख विष्टले भन्नु भयो ।
अहिले विद्यार्थी भर्ना अभियानमा कोही पनि छुट्न नदिन विशेष अभियान थालिएको उहाँले जानकारी गराउनु भयो । गरिब जेहेन्दार, दलित विद्यार्थीलाई खोजेरै भए पनि विद्यालयसम्म पुर्याउने गरी काम भइरहेको छ । उनीहरुलाई छात्रबृत्ति लगायत नगरको तर्फबाट सहयोग गरिन्छ ।
नगरभित्रका विद्यालयहरुमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापनतर्फ नगरपालिका जुटेको छ । केहि विद्यालयमा दरबन्दी अनुसार शिक्षक पदपुर्ति भएको छैन् । नभएको क्षेत्रमा नगर शिक्षक पठाएर शिक्षा सुधारको प्रयास भइरहेको छ ।
नगरपालिकाका सूचना अधिकृत युवराज जोशीका अनुसार नगरभित्रका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत सम्बोधन भइरहेको छ । धेरै विद्यालयमा नयाँ भवन निर्माण भएका छन् । भवन माग भएको क्षेत्रमा हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत भवन निर्माण गर्दै छौँ । विद्यालयमा पर्खाल निर्माण, डेस्क र बेञ्चको व्यवस्थापन गर्ने काम नगरपालिकाकोतर्फबाट भइरहेको जोशीले बताउनु भयो ।
सबै विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि अनुरुप चयन गरिएका छन् । नगरपालिकाभित्रका नागरिकलाई उच्च शिक्षा अध्ययन र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई नगरपालिकाको तर्फबाट छात्रबृत्ति व्यवस्थापन गरिएको छ । नगरपालिकाले प्लस टु पछि डाक्टर, इन्जिनियर, आइटी जस्ता प्राविधिक जनशक्ति उत्पादन गर्न लगानी गर्न सुरु गरेको छ ।