INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१- इन्सेकद्वारा इलाम निर्वाचन क्षेत्र नं २ मा निर्वाचन पूर्व पर्यवेक्षण

इलाम निर्वाचन क्षेत्र न.२ मा शनिवार (वैशाख १५) गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले वैशाख १४ गते निर्वाचन पूर्व पर्यवेक्षण गरेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्र यादवलगायतलाई भेटी निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन तयारीलगायतका विषयमा इन्सेक निर्वाचन पर्यवेक्षण समूहले जानकारी लिएको छ ।

photo 2024026 Ilam (2)
इलाम निर्वाचन क्षेत्र ‍न २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको मतदान पूर्व निर्वाचन तयारीलगायतका विषयमा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग जानकारी लिँदै इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल, कार्यकारी निर्देशक विजयराज गौतमलगायत ।

इन्सेक निर्वाचन पर्यवेक्षणसँगको भेटमा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनु भयो । ज्येष्ठ नागरिक, बिरामी, आशौच बारिरहेको परिवारका सदस्य, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र सरल ढङ्गले मतदानको व्यवस्था मिलाउन मतदान अधिकृतहरूलाई निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनु भयो ।

निर्वाचन पर्यवेक्षण समूहको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा नै उच्च सुरक्षा सर्तकता कायम गरिएको मतदान अवधिभर चुस्तदुरूस्त ढङ्गले सुरक्षाकर्मी परिचालनको व्यवस्थापन मिलाइएको बताउनु भयो ।

निर्वाचन हुने ७९ ओटा मतदानस्थल र १ सय ४९ ओटा मतदान केन्द्रमा सुरक्षाकर्मीको मोवाइल गस्तीलगायतको व्यवस्था मिलाइएको बताउनु भयो ।

वैशाख १५ गते साँझ ५ बजे मतदान प्रक्रिया सम्पन्न भएपश्चात मतपेटिका मुचुल्का उठाएर मतपेटिका सङ्कलन गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

निर्वाचन पर्यवेक्षण समूहले जिल्लाका मानव अधिकारकर्मी, पत्रकारलगायतसँग निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन सुरक्षा, आचारसंहिताको पालना, मौन अवधिमा हुन सक्ने गतिविधिका विषयमा जानकारी लिएको छ ।

निर्वाचन पर्यवेक्षण समूहले इलाम नगरपालिका-७ मा रहेको महेन्द्र रत्न मतदानस्थलको निर्वाचन तयारीका विषयमा स्थलगत अनुगमन गरी मतदान अधिकृतसँग निर्वाचनको तयारीका विषयमा जानकारी समेत लिएको छ ।

photo 2024026 Ilam (1)

निर्वाचनको पूर्व सन्ध्यामा इन्सेक निर्वाचन पर्यवेक्षण समूहले मौन अवधिका समयमा समेत राष्ट्रिय प्रजातन्त्र पार्टी, नेश्नल मङ्गोल अर्गनाइजेशनले निर्वाचन प्रचारप्रसार सामग्री नहटाएको विषयमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको निर्वाचन पर्यवेक्षक सुशील प्याकुरेलले बताउनु भयो ।

निर्वाचन पर्यवेक्षण समूहले राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालय विराटनगरका निर्देशक पवन भट्टलगायतसँग भेटी निर्वाचनको पूर्व सन्ध्याका विषयमा जानकारी लिएको छ ।

इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीलगायतको समूहले इलाम निर्वाचन क्षेत्र न.२ मा निर्वाचनको पूर्व सन्ध्यामा पूर्व निर्वाचन पर्यवेक्षण गरेको हो ।

अन्य

भिडियो