घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना अधिकारकर्मीहरूको टोलीले घटनाको विषयमा सङ्घीय प्रहरी इकाई कार्यालय तुलसीपुरका एआइजी मिङमार लामा, घटना छानबिन समितिका संयोजक तथा एसएसपी दिलिपकुमार चौधरी, दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्का, हिरासतका गार्ड र मृत्यु भएका बिकसँगै रहेका अन्य थुनुवाहरूसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको थियो ।
अधिकारकर्मीहरूको टोलीसँग एआइजी लामाले थुनुवाको मृत्यु भएपनि प्रहरीको कुटपिटबाट नभई पहिलेकै बिरामीका कारण भएको पुष्टि भएको बताए । उनले चोरीको आरोपमा भदौ १३ गते गिरफ्तार गरिएको र १४ गते बिहान एक्कासी बेहोस भइ ढलेपछि राप्ती उपक्षेत्रीय अस्पतालमा लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेको बताए ।

‘पोष्टमार्टम रिपोर्टले फोक्सोमा घाउ भएको र त्यही कारणले मृत्यु भएको देखाएको छ । हिरासतमै थुनुवाको मृत्यु भन्ने कुराले अप्ठेरोमा पर्ने डरले प्रहरीले गलत सूचना प्रवाह गर्दा समस्या भएको हो ।’-एआइजी लामाले भने- सूचना लुकाउने एसपी दुर्गा सिंह चन्द, इन्स्पेक्टर सुरज खड्का र हिरासतमा खटिएका एकजना हवल्दारलाई विभागीय कारबाहीका लागि सिफारिस गरेका छौँ ।
प्रहरीले चोरीको आरोपमा भदौ १३ गते घोराहीबाट गिरफ्तार गरी वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेको थियो । भदौ १४ गते बिहान मृत घोषणा भएका गङ्गटेलाई जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसवुकमा घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा मृत भेटिएको भन्दै पोष्ट गरेको थियो ।

अधिकारकर्मीहरूको टोलीले गङ्गटेको शव पोष्टमार्टम रिपोर्ट, एआइजी कार्यालयले सार्वजनिक गरेको घटनाको प्रतिवेदनको प्रतिलिपिसमेत लिएको इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले जानकारी दिए ।
मृतकका आफन्त भएपनि कोही पनि सम्पर्कमा नआएकोले प्रहरीको रोहवरमा घोराही उपमहानगरपालिकाले भदौ १६ गते नै गङ्गटेको शव गाडेको थियो ।
अनुगमन टोलीमा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक महत, क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी, एड्भोकेसी फोरमका बसन्त गौतम, वि ग्रुपका गोपालनाथ योगी र इन्सेक जिल्ला प्रतिनिधि सहभागि थिए ।