मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउकी ८० वर्षीया ज्येष्ठ नागरिक नोन्जोम कामीले वैशाख १२ गते नागरिकता प्राप्त गर्नुभएको छ ।
इन्सेक अनलाइनमा ०८१ वैशाख ६ गते नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएपछि ध्यानाकर्षण भइ समन्वय र पहल गरी पीडितलाई नागरिकता दिलाउनमा सहयोग गरेको ५ नम्बर वडा अध्यक्ष दावा साङ्वो तामाङले जानकारी दिनु भयो । स्थानीय सरकार तथा प्रहरीबाट सिफारिस र मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यालय सम्म नागरिकता बनाउनको लागि समन्वय गरेर नागरिकता बनाउन सफल भएको उहाँले बताउनुभयो
नेपालको संविधान भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित नगरिने व्यवस्था गरिएको भए पनि मुगूम कार्मारोङ गाउँपालिका– ५ सेरोगगाँउमा की ८० वर्षीया नोन्जोम कामीको नागरिकता थिएन । परिवारमा कसैको नागरिकता थिएन र कसैको जन्मदर्ता पनि थिएन । नागरिकता तथा जन्मदर्ता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित हुँदै आएका थिए ।
नागरिकता नहुँदा नेपाल सरकार बाट पाउने सबै खालका सेवाबाट वञ्चित भएको समाचार प्रकाशन भएपछि पीडितको नागरिकता बनाउनको लागि सदरमुकाम गमगढी ल्याएर जिल्ला प्रशासन कार्यालयमा सहकार्य गरेको स्थानीय सोनाम तामाङ्ग लामाले जानकारी दिनुभयाे । सहकार्य र समन्वयबाट पीडितले नागरिकता पाएकोमा आफू खुसी भएको बताउनुभयाे ।
लामो समय सम्म नागरिकता नहुँदा सरकारको सेवा सुविधा देखि वञ्चित भएको पीडा आज नागरिकता पाउँदा अत्यन्त खुशी भएको ८० वर्षीया नोन्जोम कामिले बताउनुभयो ।
नागरिकताको लागि स्थानीय सरकार सँग समन्वय गरी सबै प्रक्रिया पूरा गरेर नागरिकता विहीन परिवारलाई नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी बताउनु भयो ।
