डुडुवा गाउँपालिका–६, आसमानपुर स्थित ०८१ वैशाख ११ गते जयेन्दु बालसुधार गृह भवनको तीन तल्ला माथिबाट हामफालेर भाग्न खोज्दा १७ वर्षीय बालबन्दी घाइते हुनुभएको छ ।
बालसुधार गृहको नाइकेले बालकलाई साना साना गल्तीमा दिनहुँ पिट्ने गरेकोले डरले पिट्छन् कि भनेर भाग्न खोजेको बालकले बताउनु भयो । जयेन्दु बालसुधार गृहमा बस्न पढाइ लेखाइ, खेलकुद तथा खानपानको केही समस्या नभएको र यसभन्दा पहिला पनि भाग्न खोज्दा आफूहरूले समातेर ल्याइएको जयेन्दु बालसुधार गृहका कार्यालय प्रमुख बिमला काउचा मगरले बताउनु भयो ।
उहाँका अनुसार बालक तीन तलामाथिबाट हामफालेर भाग्न खोजेको र घाइते भई भाग्न नसकेपछि उपचारको लागि घुमुवा प्रहरीको जिम्मा लगाई भेरी अस्पतालमा पठाएको प्रमुख मगरले इन्सेकलाई जानकारी दिनुभयो । बालकको स्वास्थ्य उपचार भेरी अस्पताल, नेपालगञ्जमा भइरहेको छ ।
बालकले ०८० कात्तिक ३० गते चोरी गरेको भन्दै पीडितले मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । बालकलाई जिल्ला प्रहरी कार्यालयमा दुई दिन राखेर जयेन्दु बाल सुधार गृहमा पठाइएको थियो ।
