स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सहअध्यक्ष तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अर्थपूर्ण नागरिक सम्वादको बिचमा रहेको तगारो हटाउनका लागि आफूहरूले सङ्घीयता खोजेको बताए । उनले अहिलेको संविधानले वडा कार्यालयलाई दिएको अधिकार हिजोको गाउँ विकास समितिलाई भन्दा बढी रहेकोले नागरिकको अर्थपूर्ण सम्वादलाई मजबुद बनाएको बताएका हुन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २७ गते बीरगञ्जमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष प्याकुरेलले हरेक राजनीतिक दलका लागि चुनाव सङ्गठन विस्तारको माध्यम भएको बताए ।
उनले निर्वाचनलाई चेतनशील रूपमा अनुगमन गर्नका लागि अनुगमन गर्नेहरूका बिचमा एकता हुनु पर्नेमा जोड दिए । सुक्ष्म निर्वाचन अनुगमन गर्ने र मानव अधिकार आयोगसँग पनि समन्वय गरेर अगाडि बढन सकिने उनको भनाई थियो ।
नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष तथा अभियानका सहअध्यक्ष इन्द्र अर्यालले निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने मतदातालाई भोज खुवाउनेलगायतका कामले लोकतन्त्रको मर्ममा प्रहार गरेको बताए ।
उम्मेदवारको छवी, उसको घोषणापत्र उसको प्रतिवद्धताको आधारमा मत हाल्न पाउने वतावरण नबन्दासम्म स्वच्छ निर्वाचन हुन्छ भन्ने आधार नबन्ने उनको भनाई छ । ‘आस्था सबैको हुन्छ । तर, भूमिका फरक हुने कुरालाई विचार पुर्याउने कुरमा ध्यान दिनुपर्छ ।’-उनले भने ।