
व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता बारे सचेतनामूलक कार्यक्रमहरू गर्दै देशभरी ०८१ वैशाख ७ गते व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
नेपालभरि वैशाख ७ गतेसम्म ६२ लाख ७२ हजार ३४ व्यक्तिगत घटना दर्ता भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।
नेपालको जनसङ्ख्या अनुसार पुरुष भन्दा महिला बढी रहे पनि व्यक्तिगत घटना दर्तामा भने महिलाको पहुँच कम देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नतिजा अनुसार देशभरि महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) रहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्याङ्क अनुसार पुरुषको जन्म दर्ता १७ लाख २० हजार ५ सय १३ छ भने महिलाको जन्म दर्ता १५ लाख ९४ हजार ६० रहेको छ । यस्तै पुरुषको मृत्यु दर्ता ४ लाख ७२ हजार १ सय ६१ छ भने महिलाको मृत्यु दर्ता ३ लाख ८५ हजार १ सय ९० रहेको छ । विभागका महानिर्देशक युवराज कटेलका अनुसार जम्मा १३ लाख २१ हजार २ सय ९२ जोडीको विवाह दर्ता हुँदा नेपालमा ६६ हजार ५ सय ११ जोडीको सम्बन्ध विच्छेद भएको छ । बसाइ सरि जाने ३ लाख ६ हजार ९४४ र बसाइ सरी आउने ४ लाख ५ हजार २ सय ३७ गरी ७ लाख १२ हजार १ सय ८१ ओटा बसाई सराई दर्ता रहेको छ ।
यसरी वैशाख ७ गतेसम्म कोशी प्रदेशमा १३ लाख ४ हजार ८ सय २, मधेश प्रदेशमा १० लाख ४८ हजार ४ सय ३२, बागमती प्रदेशमा ११ लाख २५ हजार १४, गण्डकी प्रदेशमा ५ लाख ६१ हजार ४ सय ५९, लुम्बिनी प्रदेशमा १२ लाख ६ हजार ९ सय १८, कर्णाली प्रदेशमा ३ लाख ४१ हजार ९ सय ९३ र सुदुर पश्चिम प्रदेशमा ६ लाख ८३ हजार ४ सय १६ व्यक्तिगत घटना दर्ता भएको छ ।
विभागका सूचना अधिकारी अम्बिका खत्रीका अनुसार वैशाख ७ गतेसम्म मधेस प्रदेशको सप्तरी जिल्लामा १ लाख २९ हजार ८ सय १७, सिरहा जिल्लामा १ लाख ३६ हजार ९ सय ४३, धनुषामा १ लाख २९ हजार ६ सय १, महोत्तरीमा १ लाख ४४ हजार ६ सय १२, सर्लाहीमा १ लाख ३५ हजार ६ सय १२, रौतहटमा १ लाख १७ हजार ८ सय ३३, बारामा १ लाख ६३ हजार २ सय ११ र पर्सा जिल्लामा जम्मा ९० हजार ७ सय ९८ ओटा व्यक्तिगत घटना दर्ता रहेको छ । मधेस प्रदेशमा समेत व्यक्तिगत घटना दर्तामा महिलाको सङ्ख्या कम रहेको छ । पुरुषको ३ लाख ४० हजार ७ सय ३४ जन्म दर्ता रहेकोमा महिलाको जन्म दर्ता २ लाख ९५ हजार ९ सय ९७ मात्र रहेको छ । मधेस प्रदेशमा ६८ हजार ४ सय ९४ पुरुष र ६५ हजार ४ सय ३४ महिलाको मृत्यु दर्ता भएको छ । मधेस प्रदेशमा २ लाख २७ हजार ९ सय ८४ जनाको विवाह दर्ता हुँदा १ हजार ८ सय ९६ जोडीको सम्बन्ध विच्छेद भएको छ । यस्तै बसाइ सरी जाने २३ हजार १ सय ९४ र बसाइ सरी आउने २४ हजार ६ सय ५८ गरी कुल ४७ हजार ८ सय ५२ बसाइ सराइमा दर्ता भएको छ ।
राजविराजसहित जम्मा १८ ओटा पालिका रहेको सप्तरी जिल्लामा पनि पुरुषको भन्दा महिलाको जन्म दर्ता ७ हजार ८ सय ३ कम छ । पुरुषको जन्म दर्ता ४३ हजार २ सय ३८ हुँदा ३५ हजार ४ सय ३५ महिलाको मात्र जन्म दर्ता भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । यस्तै ८ हजार ८ सय १६ पुरुषको मृत्यु दर्ता हुँदा ८ हजार ४ सय ८९ महिलाको मृत्यु दर्ता भएको छ । विवाह दर्ता २७ हजार ९ सय ९१ जोडीको हुँदा १ सय ६५ जोडीको सम्बन्ध विच्छेद भएको छ । बसाई सरी जानेको सङ्ख्या पनि बसाइ सरी आउने भन्दा १ हजार ७३ ले बढी छ । बसाइ सरी जाने ३ हजार ३ सय ७८ र बसाइ सरी आउने २ हजार ३ सय ५ ओटा दर्ता छन् ।
सप्तरीको स्थानीय तह मध्ये सबै भन्दा बढी कञ्चनरुप नगरपालिकामा १३ हजार ५१ र सबै भन्दा कम छिन्नमस्ता गाउँपालिकामा ३ हजार ९१ जनाको व्यक्तिगत घटना दर्ता भएको छ । खडक नगरपालिकामा १२ हजार ४ सय ४३, डाक्नेश्वरी नगरपालिकामा ११ हजार ५ सय २, राजविराज नगरपालिकामा ११ हजार २ सय ६७, सुरुङ्गा नगरपालिकामा ९ हजार ४ सय ४४, शम्भुनाथ नगरपालिकामा ८ हजार ३ सय ६०, बोदे बर्साइन नगरपालिकामा ७ हजार ३ सय ४७, राजगढ गाउँपालिकामा ७ हजार १ सय ३४, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ हजार ८ सय ९३, रुपनी गाउँपालिकामा ६ हजार ४ सय ५७, महादेवा गाउँपालिकामा ५ हजार ९ सय ३०, तिलाठी कोइलाडी गाउँपलिकामा ५ हजार ५ सय ७६, बिष्णुपुर गाउँपालिकामा ४ हजार ९ सय ८६, अग्निसाइर कृष्णसवरन गाउँपालिकामा ४ हजार ७ सय १७, बलान बिहुल गाउँपालिकामा ४ हजार १ सय ३९, तिरहुत गाउँपालिकामा ३ हजार ८ सय ६ र सप्तकोशी नगरपालिकामा ३ हजार ६ सय ७९ जनाको व्यक्तिगत घटना दर्ता भएको छ ।
राजविराज नगरपालिकामा अनलाइन दर्ता सुरु भएको मिति ०७८ वैशाख १ गतेदेखि ०८१ वैशाख ७ गतेसम्म पुरुषको जन्म दर्ता ३ हजार ६ सय ६५ र महिलाको जन्म दर्ता २ हजार ८ सय ७१ गरी कुल ६ हजार ५ सय ३६ जनाको जन्म दर्ता भएको छ । पुरुषको ७ सय ३ मृत्यु दर्ता हुँदा महिलाको ६ सय मृत्यु दर्ता भएको छ । बसाई सरी जाने ५ सय २९ र बसाई सरी आउने ५ सय १८ गरी कुल १ हजार ४७ जनाको बसाइसराइ भएको छ । विवाह दर्ता २ हजार ३ सय ५६ जनाको र सम्बन्ध विच्छेद २५ जनाको दर्ता भएको छ ।
व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम अन्तर्गत राजविराज नगरपालिकामा वैशाख १ गतेदेखि ७ गतेसम्म ३४ जनाको व्यक्तिगत घटना दर्ता भएको राजविराज नगरपालिकाको पञ्जीकरण शाखाले जानकारी दिएको छ । जस अनुसार १८ जनाको जन्म दर्ता, ५ जनाको मृत्यु दर्ता, ८ जनाको विवाह दर्ता, १ जनाको सम्बन्ध विच्छेद र बसाई सरी जाने २ जनाको घटना दर्ता भएको पन्जिकरण शाखाका एमआईएस अपरेटर रबिन्द्रकुमार साहले बताउनु भयो । जसमा १० जनाले निर्धारित अवधि ३५ दिनभित्र, १४ जनाले ३६औं दिनदेखि १ वर्षभित्र र १० जनाले १ वर्षदेखि १० वर्षभित्र घटना दर्ता गराएको देखिएको छ ।
यसरी देश, प्रदेश र स्थानीय तहमा पुरुषको भन्दा महिलाको जन्म र मृत्यु दर्ता कम हुनुलाई अधिकारकर्मीहरूले लैङ्गिक विभेदका रुपमा लिएका छन् । आभाशाका राष्ट्रिय अभियानका केन्द्रीय संयोजक नजबुल खानले समाजमा रहेको लैङ्गिक विभेद र महिलाहरूको क्रियाशीलतालाई जिम्मेवार ठान्नु भएको छ । “घर परिवारमा समय दिने र विश्वास गर्ने महिलाहरूले सरकारी कामकाजलाई महत्व दिन पाउँदैनन् ।” खानले भन्नुभयो – “उता अभिभावक, समाज र राज्यले भने छोरी प्रति विश्वास नै गर्दैनन् वा उपेक्षा गर्छन्, त्यसैको परिणाम जनसङ्ख्यामा धेरै भएपनि दर्ता वा पहुँचमा महिला कम देखिन्छन् ।” नागरिकलाई राज्यले विभिन्न सेवा सुविधा उपलब्ध गराउने मानव अधिकारको विषय भएकाले व्यक्तिगत घटना दर्ताको विशेष महत्व रहने गरेको छ । पहिचान र सुविधा पाइने व्यक्तिगत घटना दर्ता गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भए पनि पुरुषको अनुपातमा महिलाको दर्ता कम हुनुले लैङ्गिक विभेदलाई पुष्टि गरेको एकल महिला समूह सप्तरीकी माधवी शाहले बताउनु भयो ।
व्यक्तिगत घटना दर्ता समयमा नै नगर्दा विभिन्न व्यवहारिक समस्या आइपर्ने भन्नु हुँदै विभागका निर्देशक (पञ्जीकरण शाखा) दिल कुमार तामाङले माानिसको जीवनमा आइपर्ने हरेक गतिविधिहरू सहज रुपमा अघि बढाउन समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको योजना निर्माण र स्थान विशेषको खासखास रणनीति बनाएर कार्यान्वयन गर्नको लागि यथार्थ तथ्याङ्क चाहिने र त्यसका लागि समयमै व्यक्तिगत घटना दर्ता हुनु पर्ने उहाँले बताउनु भयो । घटना दर्तासँगै जोडिएर आउने सामाजिक सुरक्षा कार्यक्रम र पोषण भत्ता वितरणका कार्यमा पनि घटना दर्ताको महत्व रहेको विभागका निर्देशक (सामाजिक सुरक्षा शाखा) शिवराज सेढाईले बताउनु भयो । देशमा सुशासन कायम गर्न र पारदर्शिताको लागि पनि समयमै व्यक्तिगत घटना दर्ता गर्नुपर्ने सेढाईको धारणा रहेको छ ।
व्यक्तिको कानूनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकोले जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष वैशाख महिनाको पहिलो साता व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरिएको छ ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सङ्घीयतापछि व्यक्तिगत घटनाका लागि केन्द्र सरकार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहनु पर्ने बताउनु भयो । सङ्घीय सरकारले स्थानीय तहहरूलाई व्यक्तिगत घटना दर्ताका व्यवहारिक कठिनाइको समाधानका लागि विभिन्न परिपत्र गरेपनि त्यसको उचित कार्यान्वयनमा स्थानीय तहहरू चुक्दा र महिला छुट्दा सन् २०२४ सम्म शतप्रतिशत जन्मदर्ताको लक्ष्य प्राप्तिमा कठिनाई हुने भन्सालीले बताउनु भयो ।
