INSEC Online

📅 २०८३ जेष्ठ २१

महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, सङ्घीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमलगायत छन् ।

१० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७ सय २० पदका लागि ४ हजार ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आ-आफ्ना राजनीतिक एजेण्डा सहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीले आचारसंहिता विपरीतका गतिविधिसहित मत मागिरहेका छन् ।

यहाँका राजनीतिक दलले सार्वजनिक स्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचारप्रसार गरेको पाइएको छ । अधिकांश गाउँठाउँका बिजुलीको पोल, टेलिकमको पोल र बाटो आसपासका रूख-विरूवामा अहिले विभिन्न पार्टीका झण्डा टाँगिएका छन् ।

उम्मेदवारहरू आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचारप्रसारमा उत्रेका छन् ।

पार्टीको छाप अङ्कित भेष्ट, टोपी लगाएर सयौँ कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध प्रमुख निर्वाचन कार्यालय महोत्तरीले कारबाही समेत थालेको छ । आचारसंहिता उल्लङ्घन गरेर सार्वजनिक स्थलमा राखेका तुल व्यानर, झण्डा जस्ता निर्वाचन प्रचार सामग्री मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।

महोत्तरीका स्थानीय विकास अधिकारी युवराज पौडेल, शिक्षा अधिकारी ठूलोबाबु दाहाल र जिल्ला वन अधिकारी राजेन्द्र जयसवालको नेतृत्वमा छुट्टाछुट्टै आचारसंहिता अनुगमन टोली गठन गरी आचारसंहिता पालनामा कडाई गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदरमुकाम जलेश्वर र बर्दिवासका सार्वजनिक स्थलमा टाँगिएका दलका झण्डा, चुनाव चिन्ह, व्यानरलगायत प्रचार सामग्री हटाएको मुख्य निर्वाचन कार्यालय महोत्तरीका मुख्य निर्वाचन अधिकृत किरण पोखरेलले बताए ।

अन्य

भिडियो