एक १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई साउन ३१ गते हालका लागि सजाय स्थगित रहने गरी १ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले कसुरदार नाबालक भएकाले हालका लागि कैद सजाय स्थगित गर्ने गरी फैसला सुनाएको हो ।
फैसलासँगै बालकले आगामी दिनमा पुनः अपराध गरेको प्रमाणित भए साउन ३१ गतेको फैसलासमेत जोडी थप सजाय तोकिने अदालतका श्रेस्तेदार रितबहादुर मगरले जानकारी दिए । तर, बालक पुनः अपराधका घटनामा कसुरदार नभए फैसला अनुसारको सजाय भुक्तान गर्नु नपर्नेसमेत मगरले जानकारी दिए ।
बालकले ०७२ चैत १६ गते पीडित युवतीमाथि बलात्कारको प्रयास गरेको भन्दै पीडित पक्षले उजुरी गरेपछि चैत २२ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरी निगरानीमा रहेका बालकलाई अदालतले ०७३ वैशाख १७ गते अभिभावकको जिम्मामा रहने गरी छाडिदिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण ०७२ चैत २२ गते जिल्ला अस्पतालमा गरिएको थियो ।