इलाम निर्वाचन क्षेत्र न.२ मा गएको निर्वाचनमा भन्दा वैशाख १५ गते हुने निर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ०८१ वैशाख १४ गतेसम्ममा १८ वर्ष उमेर पुग्ने व्यक्तिले मतदान गर्न पाउने भएपछि इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ हुने भएको छ ।
५९ हजार १८ जना पुरूष र ५६ हजार ८ सय ६९ जना महिला गरी कूल मतदाताको सङ्ख्या १ लाख १८ हजार ८ सय ८९ जना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ
इलाम निर्वाचन क्षेत्र न.२ मा पाँच ओटा स्थानीय तहका ४२ ओटा वडा पर्छन् । इलाम नगरपालिकाका १२ ओटा वडामध्ये १० ओटा बाहेक सबै निर्वाचन क्षेत्र न.२ मा पर्छन् । यी वडाको कुल मतदाता सङ्ख्या ३४ हजार ४५ जना छ ।
देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ जना, चुलाचुली गाउँपालिकामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक दुई जनासहित १८ हजार ५ सय ४५ जना, फाकफोकथुममा १६ हजार ३ सय दुई जना, माङ्सेबुुङमा १२ हजार ५ सय ३६ जना र माई नगरका वडा ६, ७, ८ मा ८ हजार ९६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ०७९ सालको निर्वाचनमा इलाम निर्वाचन क्षेत्र न.२ मा १ लाख १५ हजार ३ सय ४२ जना मतदाता थिए ।
इलाम निर्वाचन क्षेत्र न.२ मा वैशाख १५ गते निर्वाचनका लागि ७९ ओटा मतदानस्थलमा १ सय ४९ ओटा मतदान केन्द्र तोकिएको छ ।
