INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित

मुगूम कार्मारोङ गाउँपालिका – ५ सेरोग गाँउमा रहेको एकै परिवार ३ जनाको नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित भएका छन ।

नेपालकाे संविधान भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित नगरिने व्यवस्था गरिएको भए पनि मुगूम कार्मारोङ गाउँपालिका– ५ सेरोगगाँउमा की ८० वर्षीया नुन्दुम कामीको नागरिकता छैन । ३५ वर्ष पहिले पतिको मृत्यु भएको थियो । त्यसैगरी १८ वर्ष पहिले जेठा छोरा शिलाजित निकाल्ने क्रममा भिर बाट लडेर मृत्यु भएको थियो । अहिले घरमा ३२ वर्षीय योदान ग्याम्जो कामी, ३२ वर्षीया की छिमेक साग्मु कामी , १२ र ६ वर्षीया दुई जना नातिनी र आठ वर्षीय नाति रहेका छन । परिवारमा कसैको नागरिकता छैन त कसैको जन्मदर्ता छैन । नागरिकता तथा जन्मदर्ता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित हुँदै आएका छन ।

म बालक हुँदा  बुबाको मृत्यु भएकोले आमा बोल्न नसक्ने भएको हुँदा नागरिता बनाउनु भएन  ।  आमा अहिले ८० वर्ष पुग्दा पनि नागरिकता नहुँदा मेरो र मेरो परिवार को नागरिकता बनाउन समस्या भएको ३२ वर्षीय छोरा योदान ग्याम्जो कामीले गुनासो गर्नुभयो । मेरो नागरिकता नहुँदा मेरा बालबच्चाहरुको जन्म दर्ता बनाउन पनि निकै समस्या भएको छ । नेपाली भएर पनि नागरिकता नपाउदा राज्यबाट पाउने सबै सेवाबाट वञ्चित भएको उहाँले बताउनु भयो ।

गाउँपालिका र वडाकार्यालयबाट केही पनि सेवासुविधा नपाएको ८० वर्षीया नुन्दुम कामीले गुनासो गर्नुभयाे । कार्यालयमा जाँदा नागरिकता वा जन्मदर्ता प्रमाण पत्र आवश्यक पर्छ । नागरिकता र जन्मदर्ता प्रमाण पत्र केही नहुँदा समस्या भएको उहाँले बताउनुभयो । साथै नागरिकता बनाउनको लागि पहल गरिदिन स्थानीय सरकार तथा सबै सरोकारवालामा अनुरोध  समेत गर्नु भयो ।

नागरिकता नहुँदा नेपाल सरकार बाट पाउर्ने सबै खालका  सेवाबाट वञ्चित भएको  जानकारी पाएपछि  अहिले नागरिकता बनाउनको लागि सदरमुकाम गमगढी ल्याएर जिल्ला प्रशासन कार्यालयमा सहकार्य गरेको स्थानीय सोनाम तामाङ्ग लामाले बताउनु भयो ।

आफू वडा अध्यक्ष भए देखि यो नागरिकता बिहीन घर परिवारलाई नागरिकता दिने विषयलाई निकै गहनरुपमा लिएको मुगूम कार्मारोङ गाउँपालिका – ५ का वडा अध्यक्ष दावा साङ्वो तामाङले जानकारी दिनुभयो । स्थानीय सरकार तथा प्रहरीबाट सिफारिस र मुचुल्का तयार गरी जिल्ला प्रशासन कार्यालय सम्म नागरिकता बनाउनको लागि समन्वय गरिरहेको उहाँले बताउनु भयो ।

उमेर पुगेर पनि विभिन्न कारणले नागरिकता बनाउनबाट वञ्चित भएको नागरिकलाई नागरिकताको लागि तत्काल प्रकृया अगाडि बढाउने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्रीले जानकारी दिनुभयो । नागरिकताको लागि स्थानीय सरकार सँग समन्वय गरी थप प्रकृया अगाडि बढाउने उहाँको भनाइ छ ।

Photo20240418Mugu

Photo20240418Mugu (2)

अन्य

भिडियो