इलाम निर्वाचन क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि कायम गरिएका ७९ ओटा मतदानस्थललाई सम्वेदनशील मतदानस्थलमा वर्गीकरण गरी उम्मेदवारलाई चुनाव चिन्ह दिएसँगै चैत २८ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ ।
एकीकृत सुरक्षा योजना
इलाम निर्वाचन क्षेत्र न. २ को उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयको एकीकृत सुरक्षा योजनाले निर्वाचनका लागि कायम गरिएका सबै ७९ ओटा मतदानस्थललाई सम्वेदनशील मतदानस्थलका रूपमा लिएर एकीकृत सुरक्षा योजना अघि बढाएको छ ।
उपनिर्वाचनका लागि २ हजार ५ सय सुरक्षाकर्मी र ८ सय बढी कर्मचारी परिचालन हुने जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जवेगुले बताउनु भयो । निर्वाचनका लागि १ हजार ६३ नेपाल प्रहरी, नेपाली सेना ३ सय ५०, शसस्त्र प्रहरी ७ सय र अन्य मोवाइल गस्ती टोली गरी २ हजार ५ सय सुरक्षाकर्मीको परिचालन गरिएको छ ।
‘विगतका चुनावमा भन्दा अहिलेको चुुनावमा सुरक्षामा केही चुनौती पनि देखिएको छ ।’ डिएसपी जवेगुले भन्नुभयो, ‘पहिले देशभरिको निर्वाचन एकैपटक हुन्थ्यो । अहिले सबै राजनीतिक दलहरुको शक्ति एकैठाउँमा प्रयोग हुने सङ्केत छ । अन्य स्वतन्त्रहरूको तयारी पनि राम्रै देखिन्छ ।’
निर्वाचनलाई सुरक्षा सम्वेदनशिलताको दृष्टिकोणबाट सफल र व्यवस्थित बनाउन सुरक्षा संयन्त्र दरो भएर लागिपरेको डिएसपी जवेगुको भनाइ छ । ‘जिल्ला प्रशासन कार्यालयले सबै मतदान केन्द्रलाई अति सम्वेदनशीलमा राखेपछि सुरक्षाबल सबैतिर चनाखो र शसक्त भएर सुरक्षामा जुटेको छ । डिएसपी जवेगुले भन्नुभयो‘अघिल्ला निर्वाचनमा म्यादी परिचालन गरिन्थ्यो तर, अहिले नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरी र गस्तीटोली नै सक्रिय परिचालन हुँदैछन् । मतदानलाई शान्तिपूर्ण बनाउन सबै शक्ति लागिपरेको छ ।’


निर्वाचन आचारसंहिता लागू
निर्वाचन आचारसंहिता ०८० चैत २८ गतेदेखि लागू भएको छ । निर्वाचन आयोगले चैत २७ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको हो । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र निश्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर विभिन्न व्यक्ति,संस्था,निकाय तथा अधिकारीलाई निर्वाचन आचारसंहिता २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आचार संहिता लागू हुने व्यक्ति,संस्था,निकाय तथा अधिकारीहरू
क)नेपाल सरकार र नेपाल सरकारका मन्त्री
ख)प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
ग)संवैधानिक निकाय र सो निकायका पदाधिकारी
घ)नेपाल सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
ङ)स्थानीय कार्यपालिका र सोका सदस्य
च)संघ,प्रदेश र स्थानीय तहका कर्मचारी
छ)सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
ज)सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी
झ)राजनीतिक दल र राजनीतिक दलको भातृ संगठन
ञ)उम्मेद्वार तथा सम्बन्धित ब्यक्ति
ट)राजनीतिक दल तथा उम्मेद्वारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
ठ)सार्वजनिक पद धारण गरेको ब्यक्ति
ड)अनुगन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
ढ)पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
ण)सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
त)निजी तथा गैरसरकारी संस्था सोका पदाधिकारी तथा कर्मचारी
थ)विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
द) मतदाता
ध)विकास साझेदार संस्था
न)सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी प)मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
फ)निजी क्षेत्रका बैँक तथा वित्तीय संस्था, सहकारी संस्था, ब्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी,कर्मचारी तथा कामदार
व)वस्तु वा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार ।

१९ जना उम्मेदवारलाई मतदान चिन्ह प्रदान
इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले चैत २७ प्रकाशन गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले १९ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । कार्यालयमा चैत २४ गते मनोनयन दर्ता भएका २० जनामध्ये स्वतन्त्र उम्मेदवार इलाम नगरपालिका-११ का केशवकुमार चापागाईले मनोनयन फिर्ता गरेपछि बाँकी रहेका १९ जनाको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको छ ।
उम्मेदवारविरूद्ध चैत २५ गतेसम्म उजुरी गर्ने समय रहेपनि कुनैपनि उजुरी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । चैत २६ कार्यालयले मनोनयन जाँचबुझ गर्दै सबै मनोनयनकर्ताको नामावली प्रकाशन गरेको थियो ।
मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन कुमार लिम्बू तथा पहिचान पक्षधरका साझा तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु (थेगिम), नेकपा समाजवादीले माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राई र राप्रपाका युवा लक्ष्मी गुरुङको नाम कार्यालयले प्रकाशन गरेको छ ।
यसैगरी राप्रपा नेपालका उम्मेदवार गणेशबहादुर चौहान, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, मंगोल नेशनल अर्गनाईजेसनका मनिबहादुर लिम्बु, नेशनल रिपब्लिक नेपाल पार्टीका धनराज राना मगर, नेपाल मजदुर किसान पार्टीका श्यामकुमार दर्जी, नेपाली जनता दलका रेशम बहादुर सुनार, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका जसवन्त विक्रम शाहको नाम पनि प्रकाशित छ ।
स्वतन्त्र उम्मेदवारी दिनुभएका डाँकप्रसाद गौतम, दीपेश बोहोरा, डकेन्द्रसिं लिम्बु (थेगिम), अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालको नाम अन्तिम नामावलीमा उल्लेख छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले कायम रहेका उम्मेदवारहरूलाई चैत २७ गते नै चुनाव चिन्ह प्रदान गरेको छ ।

