भारतको हरियाणामा अलपत्र अवस्थामा रहेकी बेलडाँडी गाउँपालिका–५ की १६ वर्षीया बालिकालाई भारतीय प्रहरीको सहयोगमा बेलडाँडी नगरपालिका र ईलाका प्रहरी कार्यालय, बेलडाडीको सयुक्त टोलीले ०८० चैत २४ गते उद्धार गरेको छ ।
बालिकालाई गड्डाचौकी नाँका हुँदैं ०८० चैत ३ गते बेचबिखनका लागि भारत लगिएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी भारतको हरियाणाबाट बालिकाको उद्धार गरेको हो ।
पीडित बालिकालाई चैत २ गते सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी राम्रो रोजगारीमा लगाई दिने प्रलोभनमा पारेर बेलडाँडी गाउँपालिका–५ कालागौडाकी हसिना राना बताउने रिता नाम गरेकी महिलाले तस्करहरुको माध्यमबाट भारतको हरियाणा पुगाएको भन्दै पीडित परिवारले चैत २ गते ईलाका प्रहरी कार्यालय, बेलडाँडीमा उजुरी दिएका थिए ।
नेपाल प्रहरीको सहयोगमा चैत २४ गते बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, ईलाका प्रहरी कार्यालय, बेलडाँडीका प्रहरी हवल्दार गणेश बोहरा, तरुणदलका नेता रमेश थापामगर र परिवारका सदस्यहरुको सयुक्त टोलीले भारतको हरियााणा पुगेर पीडित बालिकाको उद्धार गरी चैत २५ गते परिवारको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय, बेलडाँडीका प्रहरी हवल्दार गणेश बोहराले बताउनु भयो ।
घटनामा संलग्न व्याक्तिहरुको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय, बेलडाँडीका हबल्दार बोहराले बताउनु भयो ।