श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको बालश्रम मुक्त स्थानीय तह बन्नुको सट्टा कास्कीको पोखरामा बालश्रमिकको संख्या अत्यधिक रहेको पाइएको छ ।
किडासाले सामाजिक विकास केन्द्रद्वारा सञ्चालन गरिएको बालश्रम उन्मूलन परियोजना, सामुदायिक हब परियोजना, जीविकोपार्जन शिक्षा परियोजना र जीवन परियोजनाका लागि शिक्षा कार्यक्रम गर्दा गरिएको सर्वेक्षणले पोखरामा बालश्रमिको संख्यामा कमी नआएको प्रष्ट देखाएको छ । परियोजनाका प्रोजेक्ट सुपरभाइजर सफल बरालका अनुसार पोखरा महानगरभित्र अहिले १३ सय ६९ जना बालश्रमिक रहेका छन् । कतिपय बालबालिका लेकसाइडदेखि पृथ्वीचोकका होटलहरुमा बालश्रमिकका रुपमा काम गर्ने गरेको पाइएको छ ।
कुल तथ्यांकको आधा संख्या भने भारतीय बालबालिका रहेका छन् । सुपरभाइजर बरालका अनुसार कुल संख्याको ५ सय ७२ जना भारतीय बालबालिकाले पोखरामा बालश्रमिका रुपमा काम गर्ने गर्छन् । ‘कन्स्ट्रक्सन, रेस्टुरेन्ट, वर्कसप, फर्निचर र घरेलु मजदुरका रुपमा बालबालिकाले काम गरेको पाइएको बरालले बताउनुभयो । घरेलु मजदुरका रुपमा धनाढ्यले नै बालश्रमिक प्रयोग गरिरहेको अवस्था पनि छ,’ उहाँले भन्नुभयो ।
बरालका अनुसार अहिले पोखरामा घरेलु कामदारका रुपमा १५ जना बालक, ६८ जना बालिका गरी ८३ जना बालश्रमिक छन् । होटल एन्ड रेस्टुरेन्टमा ८९ जना बालिका ९८ जना बालक गरी १ सय ७८ जना बालश्रमिक छन् । यस्तै वर्कसपमा बालक मात्र ५ सय ७२ जना बालश्रमिकका रुपमा काम गर्छन भने फर्निचरमा १ सय २८ जना बालक र १ जना बालिका काम गर्ने गरेको तथ्याङ्क छ । कन्ट्रक्सनमा काम गर्ने १ सय १८ जना बालक र ७२ जना बालिका रहेको तथ्यांकले देखाएको छ । अन्य क्षेत्रमा भने १ सय ५९ जना बालक र ७२ जना बालिकाले काम गर्ने गरेको सर्वेक्षणको तथ्याङ्कमा रहेको सुपरभाइजर बरालले जानकारी दिनुभयो ।