INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ महिनासम्म मर्मत भएन विद्यालयको भवन , जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

त्रिपुरासुन्दरी नगरपालिका –१ करेलीकाँडा गाउँमा रहेको लेखनाथ आधारभूत विद्यालयको भवन गत साउन महिनामा परेको अविरल वर्षाका कारण भवनको जग भत्किएर जीर्ण अवस्थामा रहेकोे छ । भवन चर्किएर जीर्ण भएको आठ महिना सम्म मर्मत नहुँदा विद्यार्थीहरु जोखिम मोलेर पठनपाठन गर्न बाध्य छन् ।

विद्यालयमा वाल विकास केन्द्र , कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरु जीर्ण भवनमा डर त्रासमै अध्ययन गरिहेका छन् । विद्यालयमा पर्याप्त भवन नहुँदा चर्केको जीर्ण भवनमा जोखिम मोलेर विद्यार्थी राख्नु परेको लेखनाथ विद्यालयका प्रधानाध्यापक नवराज थापाले बताए । विद्यालयमा ८३ जना विद्यार्थी भएको यस विद्यालयमा ४० जना भन्दा धेरै विद्यार्थीलाई चर्केको जीर्ण भवनमा राखेर पढाउँदै आएको उनको भनाइ छ।

लामोसमय देखि भवन मर्मत भएको छैन । तीन तहको सरकारबाट आठ महिना सम्म पनि भवन निर्माणकोलागि कुनै पनि सहयोग नभएको वडा सदस्य झलक बुढाले गुनासो गरे । भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप आएको खण्डमा विद्यालयमा ठुलो मानविय क्षतिको जोखिम उच्च रहेकाले अभिभावकहरु चिन्तामा रहेको उनको भनाइ छ।

विद्यालयको जीर्ण भवनको समस्याले विद्यार्थीलाई नियमित पठन पाठनमा समस्या भइरहेको छ ।   विद्यालयको भवन जीर्ण हुँदा बाहिर खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको कक्षा ५ मा अध्यनरत १० वर्षीय छात्र जयलाल बोहोराले बताए । भवन जीर्ण हुँदा सधैं बाहिर खुल्ला चौरमा बसेर पढ्छौं, चौरमा बसेर पढ्दा चिसोको कारणले बिरामी हुने खतरा छ , कहिले काँही त चर्किएको भवन भित्र बसेर पढ्नु पर्ने बाध्यता हुन्छ  , भवन बन्छ भन्दा भन्दै आठ महिना भइसक्यो तर मर्मत समेत नभएको उहाँले गुनासो गर्नुभयो ।

विद्यालयको जीर्ण भवन मर्मतको लागि त्रिपुरासुन्दरी नगरपालिका र सामाजिक विकास कार्यालयमा  दैनिक धाउदा पनि भवन मर्मत हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कावा बुढाले बताउनु भयो । भवन निर्माणको लागि कहिले नगरपालिका त कहिले सदरमुकाम स्थित सामाजिक विकास कार्यालयमा धाउने गरेको तर हाम्रो कुरा कसैले सुन्दैनन् । विद्यालयको जीर्ण भवन मर्मत नभए सम्म विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

विद्यालयको भवन जीर्ण भएर विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भइरहेको जानकारी आएको छ । अहिले बजेट छैन । नयाँ बजेटमा विशेष प्राथमिकतामा राखेर विद्यालयको भवन मर्मत गर्ने निर्णय भएको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर थापाले बताउनु भयो ।

 

Photo20240404Dolpa (2)

 

Photo20240404Dolpa (1)

 

 

अन्य

भिडियो