आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका-९ का २२ वर्षीय दपर्ण पञ्जियारलाई जन्मकैदको सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्नामको ०८० चैत २० गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा कसुरदारबाट भराउन आदेश अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।
बालिकालाई आरोपितले ०७९ असोज २३ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय, बेल्टारमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठको ०७९ कात्तिक २० गतेको आदेशले आरोपित पुर्पक्षका थुनामा थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ असोज २३ गते गरिएको थियो ।