बुढीगंगा नगरपालिका–८ मोटावाडाकी ८० वर्षीया रंगी नेपालीले नागरिकता पाउन नसक्दा सार्वजनिक सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । माईती र पोईली पक्षका आफन्तहरु कोही नहुँदा आफूले नागरिकता पाउन नसकेको उहाँको गुनासो छ ।
पति धने नेपालीको २५ वर्ष पहिले मृत्यु भइसकेको र पतिको पनि नागरिकता वा कुनै ठेगाना र अन्य प्रमाण नभएका कारण आफूले नागरिकता पाउन नसकेको पीडित रंगी नेपालीको भनाइ छ । कामको शिलशिलामा बाजुरा आउनुभएका धने नेपालीसँग रंगीको विवाह भएको थियो । खप्तड छेडेदह गाउपालिका–४ लिसाना माइती घर भएको र माईतीमा पनि आमा, बुबा र दाजुभाई आफन्त कोही नभएको उहाँले बताउनु भयो ।
नागरिकता नुहँदा सरकारबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको र आर्थिक अभावका कारण विहानबेलुकीको छाँक टार्नसमेत समस्या भएको उहाँले गुनासो गर्नु भयो ।
पति जीबित हुँदा बुढीगंगा नगरपालिका–७ बड्डेलीचौरमा अर्काको टिनको छानोमा बस्दै आएको भए पनि पतिको मृत्युपछि रंगी नेपाली हाल बुढीगंगा नगरपालिका–८ स्थित जेठी छोरी सिर्जना नेपालीको घरमा बस्दै आउनुभएको छ ।
नेपाल सरकारले दलित महिलालाई ६० वर्षको उमेरमा बृद्धभत्ता दिदै आएको भए पनि रंगी नेपालीसँग नागरिकता नै नभएपछि उहाँ बृद्धभत्ताबाट पनि वञ्चित हुनुभएको छ । रंगी नेपाली र उहाँको पतिको नाममा जग्गाजमीन पनि छैन् ।
रंगी नेपालीले नागरिकता बनाउनका लागि कुनै प्रमाणहरु पेश पेश गर्न नसकेपछि नागरिकताको सिफारिस गर्न समेत आफूहरुलाई समस्या भएको बुढीगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मेश रावलले बताउनु भयो ।
सरकारले दिने सेवा सुविधा उपलब्ध गराउन नागरिकता आवश्यकता हुने भएकाले रंगी नेपालीसँग नागरिकता नै नभएपछि सरकारी सेवा सुबिधा दिन नसकिएको वडाध्यक्ष रावलको भनाइ छ ।
कान्छी छोरी चैती नेपालीको पतिको मृत्यु भएपछि उनीबाट जन्मिएकी छोरीको समेत लालनपालन गर्नु पर्ने बाध्यताले रंगी नेपालीलाई थप समस्या उत्पन्न भएको छ ।
आफूलाई नै बिहानबेलुकीको छाँक टार्न सास्ती खेप्नुपरेका अवस्थामा नातनीको पनि लालनपालन गर्नु पर्ने बाध्यता रहेको र नातनीका आमाबुबा नभएपछि जन्मदर्ता बनाउन समेत समस्य भएको पीडित रंगी नेपालीले गुनासो गर्नु भयो । नातनी उर्मीला नेपाली कक्षा ८ मा अध्ययनरत छन । आर्थिक अभावका कारण नातनीको कामीकलमको जोहोगर्न नै सास्ती भएको रंगीले दुखेसो पोख्नु भयो ।
रंगी नेपालीले नागरिकता पाउनका लागि केही प्रमाण तथा आधारहरु पेश गर्नु पर्ने तर उहाँसँग त्यस प्रकारको प्रमाणहरु नहुँदा नागरिकता दिन समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नेपाली नागरिक भए पनि ठेगाना नै थाँहा नभएको हकमा नागरिकता दिन मिल्ने नमिल्ने बिषयमा मन्त्रालयमा बुझेर जानकारी गराउने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता पाउने हकबाट वञ्चित नगरिने व्यवस्था गरिएको भए पनि रंगी नेपाली यो अधिकारबाट वञ्चित हुनुभएको छ ।