नेपाल सरकारले सन् २०२६ अर्थात् वि.स.०८३ सम्ममा देशबाट दादुरा-रूबेला अन्त्यको लक्ष्य लिएको छ । सोही लक्ष्य बमोजिम नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०८० फागुन १३ गतेदेखि चैत ९ गतेसम्म दादुरा-रूबेलाको खोप अभियान कोशी प्रदेशमा सम्पन्न गरेको छ ।
दादुरा रूबेलाको उच्च जोखिम भएका तराईका २१ ओटा जिल्ला, काठमाण्डौँ उपत्यका तीन ओटा र बाँकी ५३ ओटा जिल्लामा दादुरा-रूबेलाको खोप अभियान सञ्चालन गरिएको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा दादुरा रूबेला उच्च जोखिम र ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा, तेहृथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सोलुम्बु र ओखलढुङ्गालाई न्यून जोखिम भएका जिल्लाका आधारमा खोप अभियान सञ्चालन गरिएको कोशी स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनु भयो ।
कोशी प्रदेशका नौ महिनादेखि पाँच वर्ष मुनि उमेर समूहका ३ लाख ३४ हजार ५ सय १९ जना बालबालिका र पाँच वर्षदेखि १५ वर्ष मुनिका ५ लाख ५९ हजार २ सय २४ जना बालबालिका गरी ८ लाख ९३ हजार ७ सय ४३ जना बालबालिकाको दादुरा-रूबेलाको खोप लगाइएको कोशी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोशी प्रदेशमा ०८० फागुन १३ गतेदेखि चैत ९ गतेसम्म ८ हजार ३ सय ६६ ओटा खोपकेन्द्रमार्फत १२ हजार ६ सय १८ जना स्वास्थ्यकर्मीले बालबालिकालाई दादुरा रूबेलाको खोप लगाएका छन् ।प्रति १ लाख जनसंख्यामा वार्षिक कम्तीमा २ जना शङ्कास्पद बिरामीको पहिचान भई प्रयोगशाला परीक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा-रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तीमा १२ महिनासम्म स्थानीय दादुरा-रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्षसम्म सोही अवस्था कायम भएमा दादुरा-रुबेलाको अवस्था शून्य भएको मानिन्छ । दादुरा-रुबेला एक सङ्क्रमित व्यक्तिबाट १५ देखि १८ जना सम्मलाई सङ्क्रमण हुने विज्ञहरुको भनाइ छ ।
के हो दादुरा ?
दादुरा एक प्रकारको आएएनए भाइरस (Paramyxovirus) बाट लाग्ने सङ्क्रामक रोग हो । यो भाइरस मानिसमा मात्र सर्दछ र धेरै छिटो सर्ने अति सङ्क्रामक किसिमको भाइरस हो । यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर पाँच वर्षमुनिका बालबालिकामा यो रोग धेरै हुने गरेको छ ।
के हो रूबेला ?
रूबेला आरएनए भाइरस (Togavirus) बाट लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सङ्क्रमण हुँदा दादुरामा जस्तै शरीरमा राता बिमिराहरू देखापर्न सक्छन् र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कहरूमा देखापर्न सक्छ ।
दादुरा रूबेला खोप किन ?
दादुरा-रूबेला खोप दादुरा, रूबेला र कञ्जेनिटल रूबेला सिण्ड्रोमबाट सुरक्षित हुनको लागि दिइन्छ । यो खोप सुरक्षित र प्रभावकारी छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ९९ दशमलव ४२ प्रतिशत बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको छ । जिल्लामा खोप लक्षित बालबालिकाको सङ्ख्या ८ हजार ५ सय ६ जना रहेकोमा ८ हजार ४ सय ५६ जना बालबालिकालाई खोप लगाइएको छ । जिल्लाको एक मात्रै फुङलिङ नगरपालिकामा लक्षित सङ्ख्याभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङले २ हजार २ सय ५६ जना बालबालिकालाई खोप लगााउने लक्ष्य राखिएकामा लक्ष्य भन्दा २२ जना बढी बालबालिका गरी २ हजार २ सय ७८ जना बालबालिकालाई खोप लगाइएको छ । पाथीभरा याङवरक गाउँपालिकामा ६ सय ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ७ सय ३५ जना बालबालिकालाई खोप दिइएको छ । मेरिङदेन गाउँपालिकामा ७ सय ७८ जना लक्षित बालबालिका रहेकोमा ७ सय ५४ बालबालिकालाई दादुरा रूबेलाविरूद्धकोे खोप लगाइएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ८ सय ४८ जना लक्षित बालबालिका रहेकोमा ९ सय १२ जना बालबालिकालाई खोप लगाइएको छ । सिदिङ्वा गाउँपालिकामा लक्षित बालबालिकाको सङ्ख्या ७ सय ८० जना बालबालिका रहेकामा ७ सय ४४ जनालाई खोप लगाइएको छ । मैवाखोला गाउँपालिकामा लक्षित बालबालिका ७ सय ७१ ज्ना रहेकोमा ६ सय ७८ जना बालबालिकालाई खोप दिइएको छ । मिक्वाखोला गाउँपालिकामा ७ सय ३० जना लक्षित बालबालिका भएकामा ७ सय ५१ जना बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको छ । फक्ताङलुङ गाउँपालिकामा ७ सय ८७ जना लक्षित बालबालिका रहेकोमा ७ सय ५६ जना जनालाई दादुरा रूबेलाविरूद्धको खोप दिइएको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनु भयो । सिरिजङ्गा गाउँपालिकामा लक्षित बालबालिका ८ सय ८१ जना रहेकोमा ८ सय ४८ बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी उदयनारायण दुलालले दादुराको सङ्क्रमणको हिसाबले विभिन्न क्षेत्रमा फरक उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइएको बताउनु भयो । हिमाली जिल्ला भएकोले ताप्लेजुङका ९ महिना देखी ५ वर्ष मुनिका बालबालिकामा दादुरा रूबेलाविरूद्ध खोप लगाइएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रूबेला पनि भाइरस (रूवेला भाइरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने सङ्क्रामक रोग हो । यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ७ हजार बढी बालबालिकालाई दादुरा रूबेला रोगविरूद्धको खोप लगाइएको छ । जिल्लाका नौ महिना देखि पाँच वर्ष उमेर समूहका ७ हजार ३ सय १३ जना बालकालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनु भयो । उहाँका अनुसार खोप लगाउने उमेर समूहका ३ हजार ६ सय ७३ जना बालक र ३ हजार ६ सय ४० जना बालिकाले खोप लगाएका हुन् । जिल्लाका ३ सय ९९ ओटा खोप केन्द्रबाट ०८० फागुन २९ गतेबाट सुरूआत गरिएको खोप अभियान चैत ४ गते सम्पन्न गरिएको छ । दादुरा रूबेला रोगबाट बचाउन बालबालिकालाई खोप अनिवार्य रहेको र यसले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न भूमिका खेल्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ९ हजार बढी बालबालिकालाई दादुरा रूबेलाको खोप लगाइएको छ । जिल्लाका ९ हजार २ सय ४४ जना बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले बताउनु भयो । जिल्लामा फागुन २७ गतेदेखि चैत २ गतेसम्म खोप सञ्चालन गरिएको थियो । नौ महिना पुरा भएका पाँच वर्ष मुनिका ९ हजार ५ सय ५० जना बालबालिकालाई दादुरा रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १० ओटै स्थानीय तहका ९७ प्रतिशत बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । खोपका लागि जिल्लामा ३ सय ३ ओटा खोप केन्द्र राखिएको थियो । खोप कार्यक्रमका लागि ३ सय ३ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ६ सय जना स्वयमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटारमा ६ महिना अघि दादुरा रूबेलाका विरामी भेटिएका थिए । दादुरा रूबेला रोग लागेका बालबालिकाहरुमा खोकी लाग्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, आँखा रातो हुने, शरीरमा राता विमिरा देखिने लगायतका लक्षण देखिने गरेको छ । सरकारले दादुरा रूबेला रोग निवारण गर्ने उद्देश्यले जोखिममा रहेका बालबालिकाहरुलाई खोप प्रदान गर्न विषेश खोप अभियान सञ्चालन गरेको हो ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा दादुरा रूबेला विरूद्धको खोप अभियान सम्पन्न भएको छ । सोलुदूधकुण्ड नगरपालिकाबाट ६ हजार २ सय ७३ जना बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको छ । थुलुङदूधकोशी गाउँपालिकामा १ हजार ५ सय ३३ जना, नेचासल्यान गाउँपालिकामा १ हजार १ सय ३८ जना, माप्यदूधकोशी गाउँपालिकामा १ हजार ६१ जना बालबालिकालाई खोप लगाइएको छ । जिल्लाको सोताङ गाउँपालिकामा ८ सय २६ जना, महाकुलुङ गाउँपालिकामा १ हजार ३ सय ७२ जना, खुम्बु पासाङल्हामु गाउँपालिकामा ५ सय ५१ जना र सबै भन्दा कम लिखुपिके गाउँपालिकामा ४ सय ३२ जना बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामनारायण शाहले बताउनु भएको छ । जिल्लाभर २ सय २१ ओटा खोप केन्द्रबाट बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ०८० फागुन २९ गतेदेखि चैत ३ गतेसम्मको सञ्चालन गरिएको दादुरा रूबेला खोप अभियानमा १० हजार ६ सय ५ जना बालबालिकालाई खोप लगाइएको छ । जिल्लाका ९२ प्रतिशत बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईँले बताउनु भयो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा २ हजार ८ सय ७२ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ हजार ६ सय ७८ जना, रावावेशी गाउँपालिकामा ६ सय ७८ जना, दिप्रङ चुइचुम्मा गाउँपालिकामा ९ सय १८ जना, जन्तेढुगा गाउँपालिकामा ६ सय ८४ जना, खोटेहाङ गाउँपालिकामा ९ सय ७८ जना, बराहपोखरी गाउँपालिकामा ६ सय ७८ जना, केपिलासगढी गाउँपालिकामा ८ सय २५ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ सय ११ जना र साकेला गाउँपालिकामा ५ सय ५७ जना बालबालिकालाई खोप लगाइएको छ । नेपाल सरकारले खोपका माध्यमबाट विभिन्न रोग निवारणका लागि अभियान सञ्चालन गर्ने भएकाले यसको महत्व भएको जिल्ला समन्वय समितिका प्रमुख सनवहादुर राईले बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, खोटाङ प्रमुख गीता दाहालले नेपाल सरकारले वि.स.२०८३ सालसम्ममा दादुरा रूबेला निवारणका लागि राष्ट्रिय खोप अभियान सञ्चालन गरीरहेको र खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताउनु भयो । दिक्तेल नगरपालिका मेयर तीर्थराज भट्टराईले बालबालिकालाई खोज लगाउन जनचेतना फैलाउन सबैलाई आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाका अध्यक्ष दीलिप खत्रीले बालबालकिाको अधिकारका पत्रकारहरूले खोप अभियानका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउनु भएको छ । जिल्लाका सबै स्थानीय तहमा ३ सय ९२ ओटा केन्द्र तोकी अभियान सम्पन्न गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईँले बताउनु भएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका ९ हजार ९ सय ३२ जना बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले जिल्लामा रहेका ९ हजार ९ सय ३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको बताउनु भयो । लक्ष्य अनुसार ९० प्रतिशत बालबालिकाले खोप लगाएको प्रमुख श्रेष्ठले बताउनु भयो । जिल्लामा ०८० फागुन २४ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लाका नौ स्थानीय तहका ३ सय ६३ केन्द्रमा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई दादुरा रूबेलाविरूद्ध खोप लगाइएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८० फागुन २७ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गरिएको दादुरा रूबेलाविरूद्ध खोप अभियानमा ५ हजार ४ सय ८७ जना बालबालिकाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले यो वर्ष नौ महिनादेखि पाँच वर्ष मुनिका ९९ दशमलव ३८ प्रतिशत बालबालिकालाई दादुरा रूबेलाविरूद्धको खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो । जिल्लाका ४५ ओटा स्वास्थ्य संस्थामार्फत ४ सय ११ ओटा खोप केन्द्र कायम गरी खोप लगाइएको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा नेपालमा दादुरा रूबेला रोगमुक्त देश बनाउने लक्ष्य लिएको छ ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा ०८० फागुन १६ गतेदेखि चैत ६ गतेसम्म चलाइएको दादुरा रूबेला खोप अभियानमा जिल्लाका ११ हजार ९ सय २९ जना बालबालिकालाई खोप लगाइएको छ । ०८० फागुन १६ गतेदेखि २० गतेसम्म फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका र याङवरक गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो । ०८० फागुन २३ गतेदेखि २७ गतेसम्म फाल्गुनन्द गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, तुम्बेवा गाउँपालिका र कुम्मायक गाउँपालिकामा दादुरा रूबेला खोप अभियान चलाइएको थियो । छुटेका बालबालिकाका लागि भने स्वास्थ्य कार्यालयमा चैत ६ गतेसम्म सेवा दिइएको छ । वर्ष नौ महिनादेखि पाँच वर्ष मुनिका ११ हजार ४ सय ९१ जना बालबालिकालाई दादुरा रूबेला खोप लगाउने लक्ष्य राखिएको थियो । तर, जिल्ला बाहिरका केही बालबालिका समेत समेटिएका कारण लक्ष्य भन्दा बढी बालबालिकालाई खोप दिइएको खोप सुपरभाइजर गणेश तुम्बापोले बताउनु भएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा ०८० फागुन २७ गतेदेखि चैत २ गतेसम्म चलेको दादुरा रूबेला खोप अभियानमा जिल्लाका १५ हजार ५ सय ९९ जना बालबालिकालाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यो वर्ष नौ महिनादेखि पाँच वर्ष मुनिका १५ हजार २ सय १२ जना बालबालिकालाई दादुरा रूबेला खोप लगाउने लक्ष्य राखेको थियो । तर, जिल्ला बाहिरका केही बालबालिकासमेत समेटिएका कारण लक्ष्य भन्दा बढी बालबालिकालाई खोप दिइएको खोप सुपरभाइजर गङ्गाधर पण्डितले बताउनु भयो । बिरामी परेर छुटेका करिब २ सय बालबालिकालाई छिट्टै खोप लगाइने पण्डितको भनाइ छ । जिल्लाका ९३ ओटा स्वास्थ्य संस्थामार्फत ४ सय २४ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइएको छ । गतवर्ष जिल्लामा पाँच वर्ष मुनिका १४ जना बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएपछि यस वर्ष पूर्ण खोप अभियान सुरु छ । जिल्लामा गत वर्ष २ सय ८९ जना बालबालिकाको पूर्ण खोपमध्ये केही खोप छुटेको पाइएको थियो । सरकारले आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रूबेला रोगमुक्त देश बनाउने लक्ष्यसाथ इलाममा पनि दादुरा रूबेला खोप अभियान चलाएकोे हो । जिल्लालाई ०८० साउन १० गते पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको थियो । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियान पुरा भएको भन्दै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरिएको थियो । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप सञ्चालन गरेर बाँकी १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोपका लागि पनि जिल्ला सुनिश्चित देखिएपछि सरकारले पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा घोषणा गरेको थियो । यसअघि खोप अभियानबाट छुटेका बालबालिकाका लागि ०८० वैशाख महिनामा पूर्णखोप अभियान चलाइएको थियो । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले बीसीजी, डीपीटी, दादुरा रूवेला, निमोनियालगायतका १३ ओटा खोप पुरा गर्नुपर्छ ।