इन्सेक रूकुम पूर्व जिल्ला प्रतिनिधि विक्रम परियारको दुर्घटना परी निधन भएको प्रति इन्सेकले चैत ६ गते विज्ञप्तिमार्फत शोक व्यक्त गरेको छ ।
परियारको बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा ०८० चैत ५ गते साँझ भएको बस दुर्घटनामा निधन भएको थियो ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा इन्सेक रूकुम पूर्वका जिल्ला प्रतिनिधि विक्रम परियारको निधन भएको खबरले दुःखी तुल्याएको उल्लेख गर्दै उक्त दुर्घटनामा अन्य नौ जनाको मृत्यु हुनुका साथै २० जना भन्दा बढी घाइते भएको जनाएको छ ।
‘मानव अधिकारको संरक्षण, संवर्धनका कार्यका साथै मानव अधिकारको अभिलेखमा रुची राख्ने उहाँको निधनले यस क्षेत्रमा अपूरणीय क्षति भएको र दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौँ ।’- विज्ञिप्तिमा भनिएको छ । परियार राष्ट्रिय दलित पत्रकार सङ्घको राष्ट्रिय महाधिवेशनामा भाग लिन काठमाडौँतर्फ आउँदै हुनुहुन्थ्यो ।