INSEC Online

📅 २०८३ जेष्ठ २१

उपनिर्वाचन ०८१- इलाम क्षेत्र न.२ निर्वाचनका लागि २० ओटा दल दर्ता

इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गतेलाई निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तोकेपछि इलाम क्षेत्र न.२ मा २० ओटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि फागुन २४ गतेदेखि फागुन ३० गतेसम्मका लागि दर्ताको समय दिएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत ५ गते विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी  दिनु भएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ गतेलाई तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह वितरणको कार्यक्रम छ । चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्तगरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ । वैशााख १२ गते मध्यरातिदेखि मौन अवधि रहने छ । ०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहनुभएका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त इलाम क्षेत्र न.२ मा उपनिर्वाचन हुन लागेको हो ।

इलाम क्षेत्र न.२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १-९, ११ र १२ र माई नगरपालिकाको वडा ६-८ समेटिएको छ । प्रदेश सभा खण्ड अन्तर्गत यस निर्वाचन क्षेत्रमा इलाम २ (क) र (ख) छन् । निर्वाचनका लागि १ सय ४९ ओटा मतदान केन्द्र र ७९ ओटा मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

अन्य

भिडियो