अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आफ्ना सल्लाहकार नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको कामना गरेको छ ।
इन्सेक केन्द्रीय कार्यालयमा चैत १ गते आयोजित बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा संस्थापक अध्यक्ष सुशील प्याकुरेललगायतले उहाँको कार्यकाल सफलताको कामना गर्नु भएको छ ।
संस्थापक अध्यक्ष प्याकुरेलले संवैधानिक पदको गरिमालाई स्थापित गरेर कार्य सम्पादन गर्नु निकै चुनौतिपूर्ण भएपनि नवनियुक्त प्रदेश प्रमुख मियाँले सो सामना गरी कार्यकाल सफल बनाउनु हुने विश्वास व्यक्त गर्नु भयो ।
इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले आधारभुत जनताको सेवा गरेर, जनताको दौतरी भएर काम गर्नु भएको अनुभवलाई प्रदेश प्रमुख मियाँले जनताको अधिकार प्राप्तिसँग एकाकार गर्दै कार्य सम्पादनमा दृढताका साथ लाग्नुहुने विश्वास व्यक्त गर्दै शुभकामना दिनु भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले मानव अधिकारका विषयमा वकालत गर्न इन्सेकले नै सिकाएको स्मरण गर्दै आफूले सिकेको ज्ञानलाई कार्य सम्पादनमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो-‘मानव अधिकारको बाटोमा हिँड्दा पक्कै पनि सही गन्तव्यमा पुगिन्छ । तसर्थ मानव अधिकारको बाटोलाई कहिल्यै भुल्ने छैन ।’
कार्यक्रममा इन्सेककी पूर्व अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव अधिकारका विषयमा प्रदेश सरकार र इन्सेकसँगको सम्बन्धलाई सुमधुर बनाउनु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मानव अधिकार क्षेत्रको अनुभवलाई समेट्दै मानव अधिकारको अवस्था सुधारका लागि प्रदेश प्रमुखको हैसियतमा थप योगदान पुर्याउनु हुने विश्वास राख्दै प्रमुख मियाँलाई बधाई दिनु भयो । इन्सेकसँगको सहकार्यलाई अझ उचाइमा लैजानका लागि प्रदेश प्रमुखसँग आफूहरूको अपेक्षा रहेको पनि अध्यक्ष अर्यालले बताउनु भयो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसका आधारमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम अर्घाखाँचीका नजिर मियाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।







